एमबीबीएस र क्रिकेटलाई रोज्न परे कुन विषय रोज्छन् होला! “अवश्य क्रिकेट” : इशान पाण्डे

नेपाली राष्ट्रिय क्रिकेट टिमले असोज महिनामा दुई वटा टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ। असोज ८ गते सिंगापुर जाने नेपाली टिम उतैबाट ओमान जानेछ। सिंगापुरमा घरेलु टिमसहित नेपाल र जिम्बावेबीच त्रिकोणीय सिरिज हुनेछ। ओमान भने नेपालसहित पाँच देशले प्रतिस्पर्धा गर्नेछन्। यो सिरिजमा नेपालका दुई जना अनुभवी खेलाडी हुने छैनन्।

विगत डेढ देशकदेखि राष्ट्रिय टिमको मुख्य बलरको जिम्मेवारीमा रहेका बसन्त रेग्मी र मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकरलाई आराम दिइएको छ। उपकप्तान ज्ञानेन्द्र मल्ल व्यक्तिगत कारणले दुबै देशको टुरमा सहभागी छैनन्। दुई अनुभवी खेलाडीले मौका नपाएको टिममा युवा ब्याट्सम्यानद्वय इशान पाण्डे र कुशल मल्लले स्थान बनाएका छन्। दुबै जना देब्रे हाते ब्याट्सम्यान हुन् भने दुबैले नेपालको उमेर समूहका टिमबाट खेलिसकेका छन्।

सन् २०१६ मा बंगलादेशमा भएको यु-१९ विश्वकपमा इशान नेपाली टिममा थिए। १५ वर्षीय कुशल हाल नेपाली यु-१९ टिमका महत्वपूर्ण सदस्य हुन्। २०१६ को विश्वकपमा बेन्चमै सीमित बन्न पुगेका इशानको खेल करिअरले त्यसपछि पनि उचाइ लिन सकेन। घरेलु फ्रेन्चाइज लिगमा उनी बिक्न सकेनन्।‘केही मौका पाएको थिएँ। जहाँ मौकाको सदुपयोग गर्न सकिनँ। त्यसैले मौका गुम्दै गयो,’ स्याङ्जामा जन्मिएर भारतमा क्रिकेट सिकेका २१ वर्षीय इशानले भने।

उनी पछिल्लो तीन वर्ष क्रिकेट वृत्तमा खासै देखिएनन्। इशानले युवा विश्वकपको टिममा परेपछिको तीन वर्षको समयलाई दुई वाक्यमै विश्लेषण गरे, ‘म गायब भएको होइन, क्रिकेटका लागि आफूलाई विकास गरिरहेको थिएँ।’ गत जेठमा भएको प्रधानमन्त्री कपमा इशान प्रदेश ३ को टिममा परे। जहाँ उनले राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लसँग ‘ड्रेसिङ रूम सेयर’ गर्ने मौका पाए।

‘देशको कप्तान र उपकप्तानसँग ड्रेसिङ रूम सेयर गर्दा एक वर्षभरि नेटमा सिक्नेभन्दा बढी कुरा जानिन्छ,’ उनी भन्छन्, ‘पारस र ज्ञानेन्द्र दाइसँगै ब्याटिङ गर्दा धेरै कुरा सिक्न मौका मिल्यो।’ उनले प्रधानमन्त्री कपमा त्रिभुवन आर्मी क्लबविरूद्ध ७९ रन र सुदूरपश्चिमविरूद्ध ५३ रन बनाए। यही प्रदर्शनले उनलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि ढोका खोलिदियो। ‘क्याम्पमा सिक्ने कुरा त मैले सिनियर दाइहरूसँग सोध्ने गरेको थिएँ। पहिलो पटक क्याम्पमा पर्दा माहौलबारे जान्ने मौका पाएँ,’ उनले भने।

क्याम्पबाट अन्तिम १५ मा परेसँगै इशानका लागि अब ‘टप अर्डर’ मा ब्याटिङ गर्ने जिम्मेवारी हुनेछ। ओपनिङमा मौका पाएको अवस्थामा दबाब नभई अवसरको रूपमा लिने उनले बताए। राष्ट्रिय टिमको ओपनिङको समस्या नियालिरहेका उनी भन्छन्, ‘जुन दिन व्यवसायिक क्रिकेट खेल्न थालें, त्यही दिनदेखि ओपनिङ गरिरहेको छु। करिअरभर नै ओपनिङ गरेकाले मैले राष्ट्रिय टिमलाई अवसरको रूपमा लिएको छु।’

राष्ट्रिय क्रिकेटरको छवि बनाएका उनको अर्को राम्रो पक्ष भनेको उनी पढाइमा अब्बल छन्।उनी हाल धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा एमबिबिएस पहिलो वर्षमा अध्ययनरत छन्।‘क्रिकेट र करिअरलाई ब्यालेन्स गरिरहेको छु। टिचरहरू र सिनियर दाइको सहयोग छ। त्यसैले चिन्ता छैन,’ उनले निर्धक्कका साथ भने, ‘मैले क्रिकेट खेल्दै पढाइ कभर गरे कुनै समस्या हुन्नजस्तो लाग्छ।’

अहिले पढाइ र क्रिकेटलाई सँगसँगै लैजाने सोचेका उनी एकमात्र रोज्न परे कुन विषय रोज्छन् होला! ‘अवश्य क्रिकेट नै,’ उनले झट्ट जवाफ दिए। क्रिकेट र पढाइलाई सँगसँगै अघि बढाउनुमा उनको परिवारको सहयोग छ। ‘मलाई परिवारबाट धेरै नै सपोर्ट छ। क्रिकेट वा पढाइ कुनै एक रोज भन्नुभएको छैन, इशान भन्छन्, ‘दुबै एकैसाथ अघि बढाउँदा अलि बढी मेहनत गर्नुपर्छ। मेहनत गर्न डरार्‍यो भने दुबैमा असफल होइन्छ।’ त्यसो भए इशान डाक्टर पास गरेका राष्ट्रिय क्रिकेटर बन्छन् त!

‘अहिले दुबैलाई सँगसँगै लैजाने विचार छ। रोज्नु पर्ने दिन आयो भने कुनै एक छाडौंला,’ उनको जवाफ छ। इशानले कूटनीतिक उत्तर दिइरहँदा भर्खर १६ वर्ष लागेका कुशल भने लजाइरहेका थिए। फ्रेन्चाइज क्रिकेट लिग होस् या यु-१९ क्रिकेट टिमको ‘मिडल अर्डर’मा आक्रमक ब्याटिङ गर्ने कुशललाई पहिलो पटक राष्ट्रिय टिम पर्दा कस्तो अनुभव भइरहेको छ? ‘खुसी छु,’ उनले लजाउँदै छोटो उत्तर दिए, ‘सिनियर टिममा पर्छु भन्ने सोचेको थिइनँ।’

टिममा उनको भूमिका के होला? ‘मैले ६ नम्बरमा ब्याटिङमा गर्ने हो। टिम संघर्ष गरिहेको बेलामा स्कोर उकास्ने मेरो जिम्मा हुन्छ।’ दुई वर्षको बीचमा यु-१६ हुँदै यु-१९ टिममा आक्रामक ब्याट्सम्यानको छवि बनाएका उनी अहिलेको राष्ट्रिय टिमका सबभन्दा कान्छा सदस्य हुन्। कुशल यु-१६ टिमका लागि ओपनिङ गर्थे। पछि उनको जिम्मेवारी परिवर्तन गर्दै ‘मिडल अर्डर ब्याट्सम्यान’ बनाइयो। के अब सधैं ‘मिडल अर्डर’ मै ब्याटिङ गर्ने इच्छा हो कुशलको?

‘होइन, प्रशिक्षकले जुन स्थानमा ब्याटिङ गर भन्नुहुन्छ। त्यसका लागि तयार छु,’ उनको उत्तर छ।

ads

ads