मनसुन बिहीबारसम्म सक्रिय रहने

काठमाडौं । सोमबारदेखि सुरु भएको झरी मंगलबार पनि दिनभरी जारी रह्यो । सोमबारदेखि सक्रिय भएको मनसुन बिहीबारसम्म जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै सोमबारदेखि सक्रिय मनसुनी प्रणाली प्रदश १, २, ३, ५ र गण्डकी प्रदेशका केही भूभागमा भारी वर्षा भएको र उक्त प्रणाली बिहीबारसम्म सक्रिय रहने जनाएको छ । विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “गण्डकीसहित प्रदेश २, ३ र ५ का केही भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशका पहाडि भूभागमा पहिरो जानसक्ने, नारायणीलगायतका नदीहरुमा बहाब उच्च हुने, चुरे र तराईबाट बहने केही नदीहरुमा आकस्मिक बहाब हुने सम्भावना रहेको छ ।”

त्यसकारण विभागले बिहीबारसम्म उच्च सतर्कता अपनाउन र विभागले जारी गर्ने मोबाइल एसएमएसलगायतका सूचनाको पहुँचमा रहन आग्रह गरेको छ । अहिलेसम्म दिनभरीको वर्षाले देशभर कुनै क्षति गरेको विवरण प्राप्त भएको छैन ।

मौसममा आएको बदलीका कारण आठवटा हेलिकप्टर काठमाडौं प्रवेश गर्न नसकेर काभ्रे र सिन्धुलीमा अवतरण गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विभिन्न जिल्लाबाट काठमाडौंका लागि उडेका हेलिकप्टरले मौसम प्रतिकूलताका कारण आकस्मिक अवतरण गर्नुपरेको थियो ।

ads

ads