विमानस्थलमा यात्रुलाई दुर्व्यवहार गर्नेलाई एकवर्षसम्मको कैद र एकलाखसम्म जरिबाना

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थलमा विमान पर्खाएको र भ्रष्टाचार विरोधि अभियन्ता ज्ञानेन्द शाहीले विमानस्थलमै मन्त्रीलाई दुर्व्यवहार गरेको घटना पेचिलो बनेको छ । सामाजिक सञ्जालमा पक्ष विपक्षमा बहस भइरहेको छ । मन्त्री योगेश भट्टराईको सचिवालयले आफूहरूले बुद्ध एयरको कर्मचारी र विमानस्थल प्रमुखसँग पर्खन अनुरोध गरेको र विमान डिले नगराएको प्रष्टीकरण दिइरहेका छन् ।

अभियन्ता शाहीले मन्त्रीले एकघण्टा बढी डिले गराएकाले सचेत गराएको बताउँदै आएका छन् । यसबारेमा सत्यतथ्य भने आउनै बाँकी छ । बुद्ध एयरले समेत वास्तविकता बताएको छैन । विमानस्थल हातामा यात्रु या कर्मचारीमाथि दुर्व्यवहार, हुलहुज्जतलाई कानुनले भने निषेध गरेको छ । नेपाल नागरिक उड्डयन ऐन, २०७३ ले हवाई यात्रुबाट हुने अवाञ्छित व्यवहारमा कसुर तथा सजायको व्यवस्था गरेको छ ।

ऐनको दफा– ८५ मा सो सम्बन्धी व्यवस्था छ । दफा ८५ को उपदफा (३) अनुसार कुनै यात्रुले विमानस्थलमा वायुसेवाका कर्मचारी, विमानस्थलमा कार्यरत कर्मचारी, हवाई यात्रु र अन्य व्यक्तिमाथि हातपात वा दुर्व्यवहार गर्न पाउँदैन ।

विमानस्थलको शान्ति सुव्यवस्थामा खलल पुग्ने कार्य पनि गर्न पाउँदैन । कदाचित् गरेमा यस्तो कार्यलाई अवांछित व्यवहार गरेको कसूर मानिनेछ । यस्तो कसुर गर्नेलाई पाँच हजार रुपैयाँदेखि एक लाख रुपैयाँ सम्म जरिबाना वा एक वर्षसम्म कैद हुने व्यवस्था ऐनमा छ । त्यसो त विमानभित्र चालकको क्षेत्राधिकार पनि मानिन्छ । यस्तो गतिविधि गर्ने यात्रुलाई चालकले ओराल्नसमेत पाउने उड्ययन क्षेत्रका अधिकारी बताउँछन् ।

ads

ads