कान्तिपुर कन्क्लेभमा युवाहरुले भने, ‘अवसर कुर्ने होइन, सिर्जना गरौं’

यो सत्रमा ट्रेसिङ नेपालका संस्थापक तथा ब्लगर लेक्स लिम्बू, मिस नेपाल शृंखला खतिवडा, टुटलका सहसंस्थापक शिक्षित भट्ट र पत्रकार तथा बौद्ध संग्रहालय तथा आध्यात्मिक क्षेत्रकी संस्थापक तथा निर्देशक सुम्निमा उदासले आफ्नो संघर्ष र सफलताबारे छलफल गरेका थिए ।

देश विकासमा युवाले आआफ्नो क्षेत्रबाट गर्न सक्ने योगदानबारे उनीहरूले आफ्नो धारणा राखेका थिए । यो सत्रमा युवाहरूले अत्यधिक रूपमा प्रयोग गर्ने सामाजिक सञ्जालमा प्रस्तुत हुने तरिकादेखि नवीन कार्यको सुरुवात गर्दा व्यहोर्ने झमेलासम्मका बारे चर्चा गरिएको थियो ।

बौद्ध संग्रहालयकी संस्थापक सुम्निमा उदासले भने नेपालमा जे काम गर्न पनि सुरुमा ‘हुन्छ, हुन्छ । भइहाल्छ नि’ भन्ने र पछि कामै नगरिदिने परिपाटी व्याप्त रहेको गुनासो गरेकी थिइन् ।

‘नेपालले युवाहरूका लागि आवश्यक यथेष्ठ अवसरहरू सिर्जना गर्न सकेको छैन । तैपनि देश अगाडि बढिरहेकै छ । जुन आफैंमा राम्रो हो,’ उनले भनिन्, ‘यहाँ रहेका तमाम चुनौतीमा पनि युवाहरूमा जोस जाँगर छ । समाजलाई एक बनाएर लैजान उनीहरू सक्षम छन् भन्ने प्रमुख उदाहरण भूकम्पका बेला उद्धार र राहत वितरणमा खटिएका युवाहरू हुन् ।’

ट्रेसिङ नेपालका संस्थापक लेक्स लिम्बूले अवसरलाई पर्खनेभन्दा अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए । आफूमा कति क्षमता छ भन्ने स्वयंलाई नै थाहा हुने उनको तर्क थियो ।

‘सांस्कृतिक रूपमा हामीलाई बच्चैदेखि गर्न सम्भव हुने काममा मात्रै हात हाल्न सिकाइएको हुन्छ । युवाझैं नेपाली युवाहरूसँग धेरै क्षमता छ,’ उनले भने, ‘उनीहरूले परम्परागत सोचलाई त्यागेर केही नयाँ काम गर्नका लागि अगाडि आउनु जरुरी छ ।’

टुटलका सहसंस्थापक शिक्षित भट्टले भने सरकारले युवाहरूले नयाँ केही गरे त्यसमा सहयोग गर्नुपर्ने धारणा राखेका थिए । ‘हामीले टुटललाई कसरी अगाडि बढाउने भन्ने मात्रै सोच्यौं । त्यसको अन्य पक्षमा भने ध्यान नपुगेकै हो,’ उनले भने, ‘म आज यही मञ्चबाट आफूले गरेको गल्तीको माफी माग्छु ।’ उनले भविष्यमा त्यस्तो गल्ती दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले आफूले टुटलमा लगानी गर्नुको कारणबारे प्रस्ट पार्दै यसले मानिसको आवागमनलाई सुविधाजनक बनाएर आर्थिक विकासमा सानो भए पनि सहयोग गर्ने दाबी गरेका थिए । ‘मैले आफूमा भएको भावनालाई मूर्त रूप दिन नयाँ सोचमा लगानी गरेको हुँ । नयाँ सोचका साथ थालनी गरेको लगानीले समाज र देशलाई नयाँ बाटोमा डोर्‍याउन सक्छ,’ उनले भने, ‘नयाँ सोचमा लगानी भनेको आफैंमा कलात्मक विषय हो जस्तो मलाई लाग्छ ।’

ads

ads