आमाबुवाको झगडाले बालबच्चालाई डिप्रेसन र एन्जाइटीको खतरा

दम्पतीबीच सामान्य झै-झगडा हुनु स्वभाविक हो । तर, आमाबुवाको झगडा बच्चाका निम्ति स्वभाविक र स्विकार्य हुँदैन । व्यवहारिक जीवन चलाउने क्रममा दम्पतीबीच केही मतभेद रहन्छ । उनीहरु त्यही विषयमा भनाभन गर्छन् । त्यही भनाभनले मनमुटाव हुन्छ ।

दम्पतीबीच झगडा त हुन्छ नै । यद्यपि उनीहरुको झगडाको शैली कस्तो छ, त्यो चाहि दुबैको बौद्विक स्तर, समझदारी, भावनात्मक सम्बन्ध, परिपक्कता आदिमा निर्भर गर्छ । कतिपय दम्पती सानो निहुँमा यसरी झगडा गर्छन्, मानौं उनीहरु महाभारतको युद्धमा होमिएका हुन् । कतिपय दम्पती ठूलै निहुँमा पनि यसरी झगडा गर्छन्, जो कसैले सुँइको समेत पाउँदैनन् । दम्पतीबीचको झगडा पनि भिन्न भिन्नै हुन्छ ।

कतिपय दम्पतीमा आर्थिक, पारिवारिक आदि कारणले झगडा हुन्छ । यस्तो झगडा उनीहरु गुपचुप ढंगले गर्छन् । झगडाबाट दुबै एउटा निष्कर्षमा पनि पुग्छन् । अर्थात उनीहरुको झगडा भनेको समस्याको निकास पनि हो । कतिपय दम्पती शंका, उपशंका आदि कारणले झगडा हुन्छ । अत्यान्तै सामान्य निहुँमा पनि उनीहरु जोड-जोडले झगडा गर्छन् । चिच्याउँछन् । हातपात लगाउँछन् । उनीहरुको झगडाले कुनै समस्याको हल त गर्दैनन् नै अरु निहुँ पैदा गरिदिन्छ ।

दम्पतीहरु एकअर्कासँग हार्न चाहँदैनन् । आफुले भनेको वा बुझेको कुरा सही हो भन्ने ठान्छन् । हरेक कुराको निर्णय आफुलाई केन्दि्रत गरेर गर्छन् । यसरी आपसी दम्भ र अहंकारले श्रीमान-श्रीमतीलाई झगडा गर्न उक्साउँछ । उनीहरु त आफ्नो रिस पोख्न वा आफ्नो जिद्दी नछाड्नका लागि झगडा गर्छन् । यस्तो अवस्थामा एकले अर्कालाई जति गाली गर्न र होच्याउन सक्यो, उत्ति सन्तुष्ट अनुभव गर्छन् । तर, उनीहरुको झगडाको साक्षी बनिरहेका बालबच्चाको हालत ?

 

डिप्रेसन र एन्जाइटीको खतरा

सन् २०१२ मा अमेरिकन जर्नल चाइल्ड डेभलोपमेन्टमा प्रकासित एक रिपोर्ट अनुसार सानै उमेरदेखि बुवाआमाको झगडा झेल्दै आएका बच्चाहरुमा पछि मानसिक समस्या देखापर्ने गर्छ । उनीहरुमा डिप्रेसन, एन्जाइटी जस्ता समस्या निम्तने भय रहन्छ । त्यती मात्र होइन, बुवाआमाको झगडाको कारण उनीहरुमा केही नयाँ सिक्ने र बुझ्ने क्षमतामा पनि ह्रास आउँछ । उनीहरु इमोशनली डिस्टब्र्ड हुनपुग्छन् ।

खराब संगतमा लाग्नसक्ने

बुवाआमाको झगडा झेल्दै आएका बच्चाहरु खराब संगतमा लाग्ने खतरा धेरै हुन्छ । उनीहरु हीनताबोधले ग्रस्त हुन्छन् र खराब संगतमा परेर कुलतमा फस्ने भय हुन्छ ।

ads

ads