विदेशी बुहारीलाई ७ वर्षपछि र विदेशी ज्वाइँलाई १५ वर्षपछि अंगीकृत नागरिकता

२८ भदौ, काठमाडौं । सरकारले विदेशी बुहारीलाई ७ वर्षपछि र विदेशी ज्वाइँलाई १५ वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताव गरेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा शुक्रबार गृह र कानुन मन्त्रालयले राज्य व्यवस्था समितिसँगको समन्वयमा नागरिकता विधेयकको संयुक्त प्रतिवेदन प्रस्तुत गर्दै विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिने प्रस्ताव गरेको हो ।

विदेशी ज्वाइँले नागरिकता लिन चाहेमा १५ वर्ष बसोबास गरेको हुनुपर्ने, विदेशी नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएको भए त्याग्नुपर्ने र नेपालको कुनै राष्ट्र भाषा जानेको हुनुपर्ने लगायतका शर्त प्रतिवेदनमा छ । तर, संविधानमा विदेशी ज्वाइँलाई नागरिकता दिने ब्यवस्था नै नभएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रश्न उठाएको छ ।

शुक्रबारको बैठकमा सरकारले विदेशी बुहारीलाई ७ वर्ष र विदेशी ज्वाइँलाई १५ वर्षपछि नागरिकता दिने प्रस्ताव गरेको थियो । कांग्रेस र राजपाका संसदहरुले सरकारी प्रस्तावबारे अध्ययन गर्ने समय माग गरेर शुक्रबारको बैठक सकियो । समितिको बैठक शनिबार पनि बस्दैछ ।

समितिमा २६ जना सदस्य छन् । समितिमा हुने निर्णय प्रक्रियामा मत बराबर भएमा सभापतिले निर्णायक मत दिने सक्ने व्यवस्था छ । समितिमा नेपाली कांग्रेसबाट ६, सत्तारुढ दल नेकपाबाट १४, राजपा र समाजवादी पार्टीबाट २/२, नेमकिपाबाट १ र स्वतन्त्र १ जना सदस्य छन् । मतदान भएको अवस्थामा नेकपाको बहुमत पुग्ने अवस्था छ । कांग्रेसले फरक मत राखेर जान सक्ने सम्भावना रहेको पनि एक नेताले बताए । नेकपाका एक उच्च नेताले भने, ‘कांग्रेसले आफ्नो फरक मत राख्न सक्छ । तर, शनिवार निर्णय हुन्छ ।’

यसअघिकै बैठकमा मत विभाजनबाट भए पनि यो विधेयकलाई पास गर्ने सरकार र सत्तारुढ नेकपाको तयारी रहेको नेताहरुले बताउँदै आएका छन् । सरकारी प्रस्ताव नमान्ने निर्णय कांग्रेसले गरेको अवस्थामा शनिबारको बैठकमा के हुन्छ हेर्न बाँकी छ । मतविभाजनबाट टुङ्ग्याउन खोजिए प्रतिनिधि सभा नियमावलीको नियम १८१ अनुसार समितिमा कायम रहेको समिति सदस्यको बहुमत चाहिन्छ ।

नागरिकता विधेयकमाथिको छलफल टुङ्ग्याउने भन्दै राज्य व्यवस्था समितिको लगातार तीनवटा बैठक बसिसके । भदौ २५ गते नै नागरिकता विधेयक पास गर्ते समितिको तयारी थियो । तर, त्यो दिन गणपुरक संख्या पुगेन र अंगीकृत नागरिकताबारे पनि एकमत हुन सकेन ।

ads

ads