इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई स्पष्ट १० अंकको अग्रता

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले स्पष्ट १० अंकको अग्रता बनाएको छ ।

बुधबार राति एभर्टनलाई उसकै मैदानमा ३–१ ले पराजित गरेपछि सिटीले दोस्रो र तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीलाई १० अंकले पछि पारेको हो । सिटीको २४ खेलबाट ५६ अंक पुगेको छ । समान खेलबाटै युनाइटेड र लेस्टरको ४६ अंक छ । पराजित एभर्टन २३ खेलबाट ३७ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

एभर्टनको मैदानमा सिटीको जितमा फिल फोडेन, रियाद महारेज र बर्नाडो सिल्भाले गोल गरे । एभर्टनका रिचार्लीसनले एक गोल फर्काए । गुडिसन पार्कमा बुधबार राति भएको खेलको ३२औं मिनेटमा सिटीले फिल फोडेनको गोलबाट अग्रता लिएको थियो । ३७औं मिनेटमा रिचार्लीसनले बराबरी गोल फर्काए । दोस्रो हाफमा सिटीले दुई गोल थप्दै जित पक्का गरे ।

६३औं मिनेटमा रियाद महारेजले बर्नाडो सिल्भाको पासमा गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए । ७७औं मिनेटमा सिल्भाले गाब्रियल जेससको पासमा गोल गर्दै सिटीलाई ३–१ को सहज जित दिलाए । प्रिमियर लिगकै अर्काे खेलमा बर्नले र फुलहमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । फुलहमका ओला एइनाले गोल गर्दा बर्नलेका एस्ले बार्नेसले गोल फर्काए ।

यो बराबरीसँगै बर्नले २४ खेलबाट २७ अंक जोडेर १५औं स्थानमा रहँदा फुलहम २४ खेलबाट १९ अंक जोडेर १८औं स्थानमा रहेको छ ।

ads

ads