अस्तव्यस्त पोखराः पार्किङस्थलमै सुपरमार्केट, सडकमै ठेक्का !

६ फागुन, पोखरा । पोखरा चिप्लेढुंगामा सेलवज टावर छ । यो टावरमा पार्किङका लागि बनाइएको अन्डरग्राउन्डमा सुपरमार्केट छ । सडकमै सवारी साधन पार्किङ गरेर पार्किङ प्रयोजनका लागि बनाइएको अन्डरग्राउन्डको सुपरमार्केटमा छिर्नुपर्छ ।

अर्को व्यस्त चोक महेन्द्रपुलमा रहेको सीता भवनको अवस्था पनि उस्तै छ । पार्किङका लागि बनाइएको अन्डरग्राउन्डमा धमाधम ब्यापार चलिरहेको छ । पार्किङचाहिँ सडकमै गर्नुपर्छ । यी त केही उदाहरणमात्रै हुन् । पार्किङका लागि बनाइएको अन्डरग्राउन्डमा अवैधानिक रुपमा व्यापार चलिरहेको छ । यसको नियमन गर्ने निकाय पोखरा महानगरपालिका भने पार्किङका लागि सडक नै ठेक्कामा दिन्छ ।

लाखौंको संख्यामा रहेको सवारी साधनका व्यवस्थित पार्किङस्थल नहुँदा बेलाबेला जामको समस्या आइरहन्छ । मुख्य सडकमा जाम हुने हुँदा सवारी चालक बाठो बन्छन् र सजिलो सहायक बाटो रोज्छन् ।

तर, सवारीको चापले गर्दा ती सहायक बाटोसमेत अस्तव्यस्त हुने र सडकमै पार्किङ हुने गरेको छ । पछिल्लो समय पोखराका मुख्य सडकमा मात्रै नभई शाखा गल्ली तथा बाटोमा पनि जामको समस्या देखिन थालेको सवारीचालकको गुनासो छ । साँघुरो सडक, त्यसमाथि दायाँबायाँ दुवैतिर पार्किङ गर्नाले अन्य सवारी चालकलाई समस्यामा पार्ने गरेको छ ।

भीड र जामको समस्या पोखरा महानगरपालिकाका भित्री शाखा बाटामा पार्किङ सुविधा नभएका कारण बढेको बताउँछन्, सवारी चालकहरु । महानगरले सहरी क्षेत्रमा बढिरहेको सवारी साधनको चाप र त्यसले निम्त्याइरहेको जाम रोक्न उचित योजना ल्याउन सकेको छैन । पार्किङ स्थल नहुँदा महानगर कार्यालय अगाडि नै अव्यवस्थित रुपमा गाडी पार्किङ हुने गरेका छन् ।

जिल्ला यातायात कार्यालयको प्रतिवेदन अनुसार पोखरामा दैनिक १ लाख ४० हजारभन्दा बढी सवारीसाधन गुड्छन् । जसमा अधिकतम् सवारी साधन बाटो छोटयाउँदै शाखाबाटा रोज्ने गर्छन् । बजारका मुख्य बाटा बाहेक अन्य शाखा तथा गल्लीबाटोमा पार्किङ गर्दा सवारीधनीले पार्किङ गरेवापतको शुल्क पनि तिर्नुपर्दैन । तर, महानगरले लामो समयदेखि पार्किङ सम्बन्धी उचित नीति ल्याउन नसक्दा मुख्य सडकमा हुनेे पार्किङवापतको शुल्कसमेत गुमाउँदै आएको छ ।

ads

ads