चलचित्र ‘प्रकाश’ निर्माणको घोषणा

काठमाडौं । चलचित्र ‘प्रकाश’ को निर्माणको औपचारिक घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच चलचित्र’प्रकाश’निर्माणको घोषणा गरिएको हो ।

दिनेश राउतको निर्देशनमा बन्ने चलचित्रमा प्रदीप खड्काले मुख्य भूमिका निर्वाह गर्ने छन् । प्रदीपको जोडी बनेर रेणु योगीले चलचित्र क्षेत्रमा डेब्यु गर्दैछिन् ।

प्रदीप र रेनुसँगै दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, देव कुमार श्रेष्ठ, निरज पन्थीलगायतको चलचित्रमा मुख्य भूमिका रहनेछ । चलचित्रका लागि कलाकार छान्ने काम अभिनेता अनुप बरालले गरेका हुन् ।

चलचित्रले ग्रामिण भेगको शिक्षित युवाको कथालाई प्रस्तुत गर्नेछ । चलचित्रबारे निर्देशक राउत भन्छन्, ‘ग्रामिण भेगबाट आएको शिक्षित युवाले सरकारी विद्यालयमा शिक्षक बन्ने सपना देखेको हुन्छ । त्यो सपना पूरा गर्न गरेको दुःख नै चलचित्रको कथा हो ।’

प्रदीप यो चलचित्रका लागि निकै मेहनत गरिरहेका छन् । उनले दार्चुलाको भाषा सिकिरहेका छन् । चलचित्रका लागि उनले आफ्नो शरीर पनि घटाइरहेका छन् ।

‘चलचित्रको पात्र नै युवा भएकाले आफूलाई फिट गरिरहेको छु । त्योसँगै हाम्रो कथा अनुसार नै म भाषा पनि सिकिरहेको छु’, प्रदीपले भने ।

महेन्द्र अधिकारीले निर्माण गर्ने चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन तथा कलर, ताराप्रकाश लिम्बु, दीपक शर्मा र एलिश कार्कीले संगीत दिनेछन् ।

निर्माण पक्षले चलचित्रको छायांकन फागुनको दोस्रो साताबाट सुरु हुने जनाएको छ ।

ads

ads