डा.स्वामी रामानन्द गिरिद्वारा लिखित अध्यात्मरामायण रामानन्दी टीका लोकार्पित

फागुन ४, काठमाडौं । महेश संस्कृत गुरुकुलमा संस्थापित विद्येश्वर भगवान्‌को पन्ध्रौँ वार्षिकोत्सवको अवसर पारी आयोजित अनुष्ठानमूलक कार्यक्रममा अध्यात्मरामायण रामानन्दी टीकाको लोकार्पण समापन भएको छ ।

डा. स्वामी रामानन्द गिरिद्वारा लेखिएको नेपाली व्याख्यासहितको अध्यात्मरामायणको महेश संन्यास आश्रमका वर्तमान पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिले लोकार्पण गर्नुभएको हो ।

गुरुकुलको छब्बीसौँ ग्रन्थमालाको रूपमा अध्यात्मरामायणको लोकार्पण भएको थियो । पुस्तक लोकार्पण गर्दै पीठाधीश गिरिले मानवजीवनमा राम शब्दको आदि मध्य र अन्त्य सबै अवस्थामा विशेष महत्त्व रहेको उल्लेख गर्दै अध्यात्मरामायणको पदार्थ, भावार्थ र विवरणसहित यति विस्तृत व्याख्या भएको ग्रन्थ अन्य कुनै पनि भाषामा आजसम्म प्रकाशित नभएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्कृतभाषाबाट आफ्नो सम्बोधन गर्दै गुरुकुलका प्राचार्य डा. गुरुप्रसाद सुवेदीले विद्यातत्त्वको बारेमा प्रकाश पार्नुभयो । शिव र सरस्वतीमा दाजुबहिनीको सम्बन्ध रहेको उल्लेख गर्दै सम्पूर्ण विद्याका प्रदाता भगवान् विद्येश्वर भएको समेत उल्लेख सुवेदीले गर्नुभयो ।

कार्यक्रमका वक्ताहरूले डा. स्वामी रामानन्द गिरिको जीवन विद्याकै क्षेत्रमा समर्पित भएकाले उहाँलाई विद्येश्वर भगवान्‌को स्थापना गर्न प्रेरणा मिलेको कुरा उल्लेख गरेका थिए । गुरुकुलका छात्र, गुरुकुलका सञ्चालक, व्यवस्थापक, दाता, शुभचिन्तकलगायत विभिन्न व्यक्तित्वहरूको भव्य उपस्थिति रहेको लोकार्पण कार्यक्रममा सरस्वतीपूजन एवम् उपासनाका विभिन्न गतिविधि समेत सम्पन्न गरिएका थिए ।

ads

ads