काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा चौथो चरणको आन्दोलनको घोषणा गरेको छ ।
आइतबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरी केन्द्रीय संघर्ष समितिले प्रतिनिधिसभा विघटनको विरोधमा चौथो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
केन्द्रीय संघर्ष समितिका संयोजक तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले ६ फागुनमा प्रतिगमन, महँगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने जानकारी दिए । यस्तै, ९ फागुनमा उपत्कासहित ७७ वटै जिल्लामा महिलाहरूको प्रदर्शन गर्ने उनले बताए ।
प्रचण्ड-नेपाल समूहले १२ फागुनमा चितवनमा र २१ फागुनमा दाङमा बृहत् विरोधसभाका कार्यक्रम गर्ने तय गरेको छ । त्यस्तै ठूला विरोधसभा जनकपुर र नेपालगञ्जमा गर्ने भएको छ । तर, त्यसका लागि विरोध सभाको दिन भने तय गरेको छैन ।
१४ फागुनमा काठमाडौंमा बृहत् युवा र्याली आयोजना गर्नेछ । र, १५ फागुनमा भने किसान र सुकुम्बासी मोर्चाको कार्यक्रम गर्ने तय गरेको छ ।
प्रवक्ता श्रेष्ठले २८ माघको विरोधसभामा पशुपतिनाथसँग जोडिएको नेताहरूको अभिव्यक्तिको आशय बंग्याएको भन्दै आपत्ति जनाए ।
हिन्दु धार्मिक समुदायलाई आँच पुर्याउने गरी नबोलिएको र त्यस्तो नबोल्ने भन्दै श्रेष्ठले गलत ढंगले प्रचारित नगर्न आग्रह पनि गरे ।
तपाईको प्रतिक्रिया दिनुहोस्