बेटी पढाउन भन्दा बचाउन गाह्रो

22 भदौ, काठमाडौं । वीरगञ्ज निवासी मुस्कान खातूनका आमाछोरी अरु दिनजस्तै शुक्रबार पनि एकाबिहानै उठे । नित्यकर्म सकेर दुबैले सँगै नमाज पढे ।

अरुबेला छोरीलाई स्कुल पुर्‍याउन सहनाज आफैं जाने गर्थिन् । शुक्रबार उनलाई सञ्चो भएन । छोरीलाई एक्लै स्कुल जान भनिन् । मुस्कान एक्लै जान मानिनन्, भाइलाई लिएर गइन् । सञ्चो नभएकाले सहनाज ओछ्यानमा पल्टिएकी थिइन् । बुबा रसुल अन्सारी कामको थकानले बिहान अलि ढिलो उठ्ने गर्छन् ।

आल्मुनियमको झ्यालढोका बनाउने व्यवसाय गर्दै आएका रसुल ओछ्यानमै रहेका बेला मोबाइलमा घन्टी बज्यो । मुस्कानलाई एसिड प्रहार भयो भन्ने खबरले उनी अक्क न बक्क भए । आमा सहनाजले फोनको वार्तालापबाटै छोरीमाथि विपत्ति आइलागेको थाहा पाइन् । बिसञ्चो शरीर लिएर सहनाज खाली खुट्टै भक्कानिँदै नारायणी अस्पतालमा पुगिन् । रसुल एउटा हातको पाखुरामा सर्ट घुसारेर अस्पताल पुगे । अस्पतालमा छोरीको हालत देखेर दुबै बेहोस भए ।

बेटी पढाउन भन्दा बचाउन गाह्रो

६ महिना जति भयो होला, स्कुल आउजाउ गर्दा गणेशमानचोकमा वीरगञ्ज, छप्कैयाका १६ वषर्ीय माजिद आलम नाम गरेका केटाले जिस्क्याउने गरेको गुनासो मुस्कानले आमासमक्ष गरेकी थिइन् । सहनाजले श्रीमानलाई यो कुरा सुनाएकी थिइन् ।

स्कुल आउजाउमा समस्या भएको छोरीको गुनासोपछि रसुलले आलमलाई भेटेर सम्झाएका रहेछन् । सम्झाउने क्रममा रसुलले आलमलाई एक लबटो पनि हानेका रहेछन् ।
दुई दिनअघि मात्र रसुलले छोरीसँग यसबारे सोधेका थिए । मुस्कानले समस्या नभएको बताएकी थिइन् । तर त्यसको दुई दिनपछि तिनै व्यक्तिको योजनामा वीरगञ्ज-२ छप्कैया बस्ने १६ वर्षीय सम्साद मियाँले एसिड प्रहार गरेको पीडित परिवारको भनाइ छ ।

छोरी स्कुल हिँडेको १० मिनेटपछि मुस्कानमाथि एसिड प्रहार भयो । मुस्कानका पछिपछि भाइ थिए । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत मुस्कान शुक्रबार बिहान करिव ६ बजेतिर गणेशमान चोक जाने गल्लीमा पुगेपछि सैलुनमा बसेका एकजना केटाले यता हेर त भने । त्यता नहेरी मुस्कान हिँडिरहिन् ।

तर एक्कासी ती किशोरले जगबाट एसिड हृवात्तै फाले । मुस्कानले दुबै हातले झोला समाएर अनुहार छेक्ने प्रयास गरिन् । तर, एसिड उनको दाहिने पट्टकिो अनुहारको भागमा पर्‍यो । एसिडले उनका दुबै हात, छाती र अनुहारको दाहिने भागमा पोल्यो । एसिडको जलनले मुस्कान छट्पटाई रहँदा उनीहरुसँगै पढ्न आउने साथीले उद्धार गरेर तत्कालै नारायणी अस्पताल पुर्‍याए । एसिड फाल्ने बेलामा देखेको अनुहार नौसाद भन्ने उनले ठम्याएकी थिइन् ।

एसिड प्रहार गर्ने कार्यमा संलग्न दुबै जनालाई प्रहरीले पक्राउ गरिसकेको छन् । एसिड छ्याप्ने वीरगञ्ज-२ छप्कैयाका १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पहिला पक्राउ गर्‍यो । केही समयपछि एसिड प्रहारका योजनाकार रहेका सोही ठाउँका १६ वर्षीय माजिद आलमलाई पनि प्रहरीले पक्राउ गर्‍यो ।

एसिड हान्नेलाई झुण्ड्याइयोस्’

आल्मुनियमको झ्यालढोका बनाएर पाँच छोराछोरीसहित ७ जनाको परिवार धानेका रसुल छोरीलाई यो अवस्थामा पुर्‍याउनेलाई हदैसम्मको सजायँ हुनुपर्ने माग गर्छन् । संविधानले मृत्युदण्डको कानुन बनाउन दिएको छैन । तर, मुस्कानका पिताको माग एसिड प्रहार गर्नेलाई मृत्युदण्ड दिइनुपर्ने माग छ ।

मुस्कानका पिता भन्छन्, ‘मेरी छोरीलाई एसिड फ्यालेर कुरुप बनाउनेलाई जन्मकैदको सजायँ हुनुपर्छ । कि त झुण्ड्याउने व्यवस्था हुनुपर्छ । जेलबाट फेरि समाजमा आयो भने अन्य छोरीहरुले पनि यस्तै नियति भोग्नुपर्ने हो कि ?

आफ्नो जीवन बर्बाद गर्नेलाई कडाभन्दा कडा कारवाही गरेर आˆनो आत्मालाई शान्ति दिलाउन मुस्कानले माग गरेकी छिन् । एसिडले पोल्दा कस्तो हुन्छ भन्ने अपराधीलाई महसुस गराउनुपर्ने उनको माग छ । एसिड प्रहार गर्ने व्यक्तिसँग मुस्कानले अहिलेसम्म एकै वचन कुराकानीसम्म नगरेको आमा सहनाज बताउँछिन् ।

६ महिनामा दुईजनामाथि एसिड प्रहार

०७६ सालयता ५ महिनामा एसिड आक्रमणका दुई घटना सार्वजनिक भएका छन् । दुबै घटना महिलामाथि नै भएका हुन् ।

गत जेठ १ गते बुधबार राति काठमाडौंको कालोपुलमा २२ बषर्ीया युवतीमाथि आफ्नै श्रीमानले एसिड प्रहार गरेका थिए । श्रीमानलाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । त्यसको चार महिनापछि गत भदौ २० गते शुक्रबार विहान वीरगञ्जकी मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।

प्रेम प्रस्ताव अस्वीकार गरेको झोकमा मुस्कानमाथि एसिड प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताए पनि पीडित परिवारले भने कुराकानी नै नभएको किशोरले विनाकारण एसिड प्रहार गरेको बताएको छ ।

ads

ads