कविता : ‘लोकतन्त्र रे’


-निश्चल आचार्य

रगतको धाराले नुहारहेको थियो कालो सडक
दन्दन्दन्किरहेको थियो तातो शरीर
फुट्छु भन्दै उफ्रिरहेको थियो हृदयको धड्कन
अनि कानका प्वालले डराउँदै निलिरहेका थिए ,

जनआन्दोलन सफल पारौको नारा !
होसियार !
यदि सफलले फल पाउँछ भने सफल पार !
नत्र सफललाई उधोमुन्टो पार्दै गाउँ नडुला
सफललाई मेरो हजुरबुबाको पालामा नि डुलाइयो
सफललाई मेरो बुवाको पालामा नि डुलाइयो
सफललाई मेरो पालामा नि डुलाइदै छ

सफललाई बलात्कार गरिरहने
हजारौं नेताहरु रमाइरहेका छन्
हेरिरहने जनताहरु न सफललाई केही भन्न सक्छन्
न नेतालाई नै !
सडकको पेटिमा लडिरहेको यो शरीर
आँखाहरुलाई धम्काइरहेको थियो ,
उठ्छस् कि लुटौँ
सडकनै कालाम्मे हुनेगरि बगिरहेको मेरो रगतलाई
कसैको आँखाको नानीले ख्याल गरेको थिएन |

जब राजावादी आए
तब मेरो शरीरलाई नेपालको झन्डा भिराएर गए
जब कम्नियुष्ट आए
हसिया हटौडाको झन्डा चढाएर गए
जब कांग्रेस आए
रुखको झन्डा लडाएर गए
मेरो आँखाहरु सुतिरहेका थिए
चीत्कार उठिरहेको थियो
अनि सोचहरु लडिरहेका थिए |

कोही दाइ म सरह लडिरहेका थिए सडकमा
चीत्कार लछार्दै
बोली पछारिरहेका थिए
अब देश झन्डामा रह्यो
पार्टिमा रह्यो
नारायणहिटिको घाँटि निचोर्दै
पछारेका नरपिचाशको छातिमा रह्यो
अब देश
देश रहेन ।

ads

ads