नक्कली प्रहरी ग्याङले सुन देखाएर लुट्ने

२२ भदौ, काठमाडौं । नवलपरासी, बर्दघाटका सुनचाँदी व्यवसायी योगेश विकलाई सस्तोमा सुनको अफरले लोभ्यायो । तर राजधानी आउन भ्याइरहेका थिएनन् ।

हालै मात्र बुबा सिकिस्त विरामी भएर काठमाडौंको गंगालाल अस्पतालमा भर्ना भए । त्यही बेला सुनको भाउ दैनिक उकालो लाग्दै थियो । बुबालाई भेट्न मात्र होइन, सस्तोमा सुन खरिद गर्ने योजनाका साथ योगेश काठमाडौं आए । शुक्रबार साँझ सामाखुशीको मुस्ताङ गेस्ट हाउसमा आइपुगेका उनले रसुवाबाट आएको सुन बेच्ने आश्वसन दिएका नुवाकोटका राजन तामाङलाई बोलाए । सुनको रकम तिर्न झोलामा करिब २२ लाख रुपैयाँ राखेका थिए ।

कोठा नं. ४०४ मा बसेका उनी राजनको पर्खाइमा थिए । तर ढोका खोल्नासाथ पेस्तोल तेर्स्याएर ‘हामी प्रहरी हो… हातमाथि… !’ भनेपछि विकको सातो गयो । आफूलाई प्रहरी बताउने समूहले उनलाई पक्राउ गरेन, झोला मात्र लिएर हिँड्यो । उनलाई अनौठो लाग्यो र, प्रहरी कन्ट्रोल १०० मा घटनाबारे जानकारी गराए ।

अनुसन्धानमा सहयोगी सीसी क्यामरा

प्रहरीलाई घटनाबारे जानकारी प्राप्त भएलगत्तै सादा पोशाकमा महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटी नेतृत्वको टोली खटियो । होटल बाहिर रहेको सीसीटीभी फुटेजबाट तस्वीर निकालेर खोजी सुरु गर्‍यो ।

आइतबार बिहान नयाँ बसपार्क, बालाजुबाट गुल्मीका युवराज भण्डारी पक्राउ परे । सोधपुछ गर्ने क्रममा भण्डारी सशस्त्र प्रहरी बलका वहालवाला जवान भएको खुल्यो । ‘भण्डारीको बयान, फुटेज र प्राविधिक पक्षको विश्लेषणबाट लुटेर समूहका अन्य सदस्य काठमाडौं–१६ को हाइ रेष्टुरेन्ट एन्ट डान्सबारमा हुनसक्ने निष्कर्षमा हामी पुग्यौं’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन् ।

काठमाडौं प्रहरीका एसपी अशोक सिंहका अनुसार डान्स बारको पहिचानपछि शनिबार दिउँसो समूहका ७ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा गोरखाका कुशल अधिकारी, नुवाकोटका रामबहादुर तामाङ, धर्मराज तामाङ, रसुवाका योर्साङ घले, धादिङका विजय तामाङ, नुवाकोटका पिटर तामाङ र राजन तामाङ छन् ।

उनीहरु सबै लुटपाटको घटनामा संलग्न भएको सीसीटीभी फुटेजले पुष्टि गरेको प्रहरी बताउँछ । पक्राउ परेकामध्ये घले विप्लव समूहका कार्यकर्ता भएको प्रहरीको दाबी छ । तर उनले केही महिनाअघि समूह छाडेको बयान दिएका छन् अधिकारी माओवादी द्वन्द्वका वेला नेपाली सेनाबाट भागेका भगौडा हुन् । कुशल, रामबहादुर, धर्मराज, विजय पिटर चाहिँ हाई रेस्टुरेन्टका सञ्चालक हुन् ।

डकैती र हातहतियार मुद्दा

प्रहरीले पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराध संहिता अन्तरगत लुटपाट र डकैतीसहित हातहतियार तथा खरखजानामा मुद्दामा ७ दिन म्याद थप गरेको छ ।

घटनामा संलग्न भएको आरोपमा समातिएकालाई आइतबार जिल्ला अदालत, काठमाडौंमा लगेर अनुसन्धानका लागि म्याद थपिएको हो । ‘अब विस्तृत बयान र अनुसन्धान सुरु हुनेछ’, काठमाडौंका डीएसपी बोगटी भन्छन् ।

ads

ads