कविता :- अन्त्य

भावनाका बथानहरुले
मुटुलाई उत्ताउलो बनाइरहँदा,
शब्दरुपि गोठालोले कापीका पानामा
च्याप्प समातेर टास्दिन तर्सदैथ्यो
तब कोही कराइरहेका थिए
आँसुको पोखरिमा भावना डुबेर मर्यो रे

सोच आफै अचम्म पर्दै थियो
म के सोचिरहेको छु भनेर
त्यहि दिनदेखी सोचले पनि विश्राम लियो
अनि भावनाले पनि
श्वास एक्लै भट्भटाइरहेको थियो
न सुन्ने कोही थिए
न सुनाउने

श्वासपनि दिक्क बोल्यो
मेरो श्वासले गीत गाँउन सारङ्गीको धुन चाहिन्छ
जो चीत्कारको ध्वनिले मद्दत गर्थ्यो
जो अहिले छैन
तबलाको ताल चाहिन्छ
जो हाँसोको तालले सहयोग गर्थ्यो
जो अहिले छैन
न मसँग आज हाँसो छ
न चीत्कार नै
तब मेरो विश्राम हुनु जरुरत छ
श्वासले आफ्नो घाँटि आफै निचोर्दै विश्राम लियो ।

-निश्चल आचार्य

ads

ads