प्रधानमन्त्रीद्वारा निर्वाचन आयोग पुगेर १ घन्टा छलफल

माघ २७,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग पुगेर १ घन्टा छलफल गरेका छन् ।

प्रधानमन्त्री ओली मध्यान्ह ११: ५० बजे आयोगमा पुगेका थिए । उनले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीसँग करिब एक घण्टा छलफल गरेर बाहिरिएका हुन् ।

वैशाखमा सरकारले घोषणा गरेको निर्वाचनका लागि अहिलेसम्म आयोगबाट भएका तयारी र नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको आधिकारिकता विवादजस्ता विषयमा छलफलका लागि प्रधानमन्त्री ओली आयोग पुगेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ र दुवै समूहले आफूँ नै आधिकारिक भएको दावी गरिरहेका छन् ।

यसअघि गत माघ २० गते नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल निर्वाचन आयोगको कार्यालय पुगेर पार्टीको आधिकारिकता दाबी गरेका थिए ।

प्रधानमन्त्रीको छलफलबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाको आधिकारिकता विवाद भन्दा पनि प्रधानमन्त्रीले निर्वाचनको तयारीको बारेमा बुझ्नको लागि यहाँ आउनुभएको बताएका छन् ।

आयोगले निर्धारित मितिमा निर्वाचन गराउन मतदाता नामावली अद्यावधिक लगायतका कामहरु शुरु गरिसकेको छ । हिजो बसेको मन्त्रिषरिषद बैठकले पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।

ads

ads