अफगानिस्तानको राजधानी काबुल आत्मघाती विस्फोटमा कृष्णबहादुर र चन्द्र पुनले ज्यान गुमाए

अफगानिस्तानको राजधानी काबुलस्थित ग्रिन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा कृष्णबहादुरसहित रोल्पाका चन्द्र पुनले ज्यान गुमाए ।

ग्रीन भिलेज क्याम्प विदेशीहरू बस्ने भवन हो । ‘गार्दा वल्र्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा उनीहरु कार्यरत थिए । ४५ दिनको विदा सकेर काबुल फर्किएको १२ औं दिनमा कृष्णबहादुरले आत्मघाती आतंकवादीको हमला परे । विगत १० बर्षदेखि क्यानेडियन सुरक्षा कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत उनी ३ भदौमा अन्तिम पटकका लागि भन्दै काबुल गएका थिए । बाँकी हरहिसाब मिलाएर चाँडै फर्कने उनको वाचा थियो, परिवारसँग । तर ५१ वर्षकै उमेरमा विदेशी भूमिमा अस्ताए ।

परिवारका सबै सदस्यको जोड थियो, भयो अब नजाऊ । पत्नी लक्ष्मीले त रोक्न निकै प्रयास पनि गरेकी थिइन् । श्रीमानको राहदानी पनि लुकाइदिएकी हुन् । तर विदा थपेर आउँछु भन्दै काठमाडौं हिँडेका कृष्ण काबुल पुगे । घरबाट निस्किएका कृष्णबहादुरले नत आमाबाबुलाई जान्छु भने नत छरछिमेकलाई ।

नाताले भिनाजु पर्ने कमल थापा मगर भन्छन्, ‘अघिल्लो दिनसम्म सँगै थियौं, एक वचन जान्छु भिनाजु पनि भनेन । विदेश अब नजाऊ भन्दा चुप लाग्थ्यो, बोल्दैनथ्यो ।’

काबुल जानुअघि जहाज चढ्ने बेलामा आमालाई फोन गरे । ‘आमा म काबुल जान लागे, छिट्टै फर्किन्छु । आफ्नो ख्याल गर्नु, बुवालाई पनि गयो भनिदिनू ।’ छोरासँग भएको कुराकानी सम्झिँदै चित्रकुमारी भक्कानिइन्, ‘छिट्टै आउँछु आमा भनेर गएको छोराको यस्तो हालत भयो । हे दैव हामीले के पाप गरेका थियौं यो सजाय दियौं ?’

सरकारले शव चाँडै नेपाल ल्याइदियोस्

१६ भदौमा भएको विस्फोटमा ज्यान गुमाएका कृष्णबहादुरको शव अझै काबुलमा छ । शोकमा रहेको परवारले शवलाई नेपाल ल्याउन आवश्यक पहल गरिदिने सरकारसँग अपिल गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनमार्फत परराष्ट्र मन्त्रालय र सम्बन्धित देशको दूतावासमा अनुरोध गरिएको कृष्णका भाइले बताए ।

अफगानिस्तानलाई दिल्लीस्थित नेपाली दूतावासले हेर्ने गरेको छ । दिल्लीस्थित नेपाली दूतावासले घटनामा मृत्यु भएका कृष्णबहादुर र चन्द्र पुनको शव स्वदेश ल्याउने प्रक्रिया सुरु भइसकेको बताएको छ । कृष्णका जेठा छोरा रमेशले भने छिटो शव ल्याउन पहल गरिदिन सरकारसँग अपिल गरे । ‘हामी कहाँ जाऔं के गरौं’ रमेशले भने, ‘सरकारले नै चाँडो पहल गरिदियोस् ।’

ads

ads