रेल र सुरुङ निर्माण प्रधानमन्‍त्रीको सोच : सल्लाहकार रिमाल

काठमाडौं । प्रधानमन्‍त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले रेलमार्ग र सुरुङ निर्माण जस्ता ठूला पूर्वाधार विकास र समृद्धिको सोचका कारण प्रधानमन्‍त्री केपी शर्मा ओलीका पक्षमा देशभर आकर्षण रहेको बताएका छन्।

समकालीन नेताहरूमा समृद्धि र विकासका लागि नयाँनयाँ योजना र कार्यक्रम ल्याउन सक्ने सोचका आधारमा ओली सबैभन्दा अब्बल भएको उनको तर्क छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोट-काठमाडौं सम्पर्क मञ्‍चको कार्यकर्ता भेलामा नेकपा स्थायी कमिटीका सदस्य रिमालले काठमाडौंमा आयोजित पार्टीको जनसभामा देखिएको उत्साहजनक उपस्थितिले पनि अध्यक्ष एवं प्रधानमन्‍त्री ओलीका पक्षमा कार्यकर्ता र जनताको समर्थन देखिएको बताए।

केरुङ-काठमाडौं रेलमार्गको सर्वेक्षण, गल्छी-त्रिशूली सडकको स्तरोन्‍नति, टोखा छहरे-सुरुङमार्गको परिकल्पना आदि राष्ट्रिय महत्वका आयोजनाका कारण नुवाकोट सामरिक महत्वको जिल्लाका रुपमा विकास भएकाले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानमा पार्टीलाई विजयी गराउन नेता रिमालले आग्रह गरे।

ads

ads