प्रेम–व्यापारी !

 

 

 

 

 

 

 

 

 

 

प्रिय,
तिम्रो व्यापार कस्तो छ नि ?
मन्दी लागेको छ कि, अझै बढेको छ ?
व्यापारी व्यापारमा नै त रमाउँछ नि
हृदयको व्यापार गर्यौ भनेर के गुनासो गर्नु र खै ?

तिमी मात्र हो र ?
संसारै एउटा व्यापारिक केन्द्र न हो
विकासको व्यापार
सभ्यताको व्यापार
मनुष्यको व्यापार
ईश्वरको व्यापार
अनि यी सबै व्यापारका बीचमा
आत्मा क्रय बिक्रय गर्ने थलो – मानवसमाज

तिमी व्यापारी,
तिम्रा हिसाब–किताबका ठेलीबाट आएका
तिरस्कारका नजरको त्रास
हटिसकेको छैन
अपमानको घाउमा
खाटा बसिसकेको छैन
शब्दवाणले लागेको चोट
निको भइसकेको छैन
तिमीले दोबाटोमा बिछ्याएका काँडाले
बनाएको घाऊमा
खाटा बसिसकेको छैन

संसार डुलिरहँदा
हिजो आश लाग्थ्यो
कतै तिमी भेटिन्छ्यौ कि !
तर अहिले डर लाग्छ
कतै तिमी भेटिन्छ्यौ कि !
हिजो तिम्रा टोकरीमा
मधुर मुस्कान, शीतल आभास,
कोमल हृदयको आश हुन्थ्यो
आज तिम्रो टोकरीमा
छट्पटाइरहेका मुटुहरु
पीडाले आहत भएर
कराउँदै नै त होलान् नि

ए निर्दयी व्यापारी !
प्रेमले त निष्ठा र समर्पणको अपेक्षा गर्दछ
धोका र छल होइन
नस्वीकारेको धोका सहन कठिन हुँदो रैछ
त्यसैले भैगो प्रिय,
तिम्रो माया मलाई चाहिएन
मांसाहारीले बाख्राको पाठोलाई गर्ने जस्तो
निर्दयी माया चाहिएन
काखमा राखेर छुरा रोप्ने
क्रूर माया मलाई चाहिएन
मधुर मुस्कानले लोभ्याएर अँगालोमा बाँधिदै
मुटु चुँडाल्ने माया चाहिएन
ओभाउन लागेको घाउमा कन्याएर
आन्द्राभुँडी नै निकाल्ने
ब्वाँसाको जस्तो माया चाहिएन

अँ साच्चि
महामारीका कारण
आफ्नो व्यापारमा मन्दी आएर सुस्ताएकी छौ रे
तर
प्रेमको बजारमा थुप्रै व्यापारीहरू होलान्
तिनै व्यापारीलाई बिन्ती गरिदिन्छु

ए प्रेम बजारका व्यापारी हो !
कति पर्छ नि एउटा मुटुको ?
अब तिमीसँग भएको मुटु बेच्दा
उनैलाई बेचिदेऊ है
ताकि व्यापारको दुनियामा
उनको व्यापार निरन्तर चलिरहोस् ।।

-डा. प्रदिप ढकाल

ads

ads