पोखराका स्रष्टाहरुले गरे सृजनात्मक आन्दोलन


पोखरा । प्रधानमन्त्री केपी ओलीले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरे लगत्तै त्यसको भोलिपल्ट पोखराका स्रष्टाहरुले शक्तिशाली कविता सुनाएर ,प्रतिगमनको विरूद्ध कला प्रस्तुत गरेका छन् ।

पोखराको पृथ्वीचोकको फुटट्रेक चउरमा उनीहरूले कला प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले गरेको संसद विघटनका विरुद्ध त्यहीँ ठाउँमा यसअघि कांग्रेस र जनता समाजवादी पार्टीले प्रदर्शन गरेका थिए।

थिएटर कलाकारले प्रधानमन्त्री ओली र उनका समर्थकलाई ब्यङ्ग्य गर्न मुख र आँखामा पट्टी बाँधे। पट्टीमा आँखा भएको ठाउँमा आँखा र मुख भएको ठाउँमा ठूलो हाँसो सहितको मुखको चित्र थियो। मञ्चमा उभिएर लेखक त्रिवेणीले देशमा कुशासन छ? भनेर सोधे। पट्टी बाँधेर उभिएका युवालै छैन भनेर जवाफ दिए। त्यसो त उनीहरुले हातमा ‘छैन’ लेखिएको प्लेकार्ड बोकेका थिए।

यो पर्फमेन्स आर्ट नाट्यकर्मी शरदले संयोजन गरेका हुन् । यो आर्टको परिकल्पना गरेका बरिष्ठ कलाकार सुनिल सिग्देलले नेता र तिनका भक्तलाई ब्यङ्ग्य गर्न यस्तो प्रस्तुती दिएको बताए। ‘नेताले जे भने पनि हो भन्नेहरुलाई ब्यङ्य गरिएको हो’, सिग्देलले भने, ‘नेताको अन्धभक्तकै कारण देश यस्तो अवस्थामा आइपुगेको हो।

’प्रधानमन्त्री ओलीले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटन विरूद्ध दलहरू मात्र होइन, नागरिक पनि आन्दोलित बन्दै गएका छन्। पोखरामा कवि कलाकारले गरेको आन्दोलनमा प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेको र आम नागरिकको भावनामाथि खेलवाड गरेको बताएका थिए।

विरोध कार्यक्रममा कविहरु रोशन तिमिल्सिना, रिता अधिकारी, डा. चैतन्य अधिकारी सुरज उपाध्याय लगायतले कविता वाचन गरेका थिए। उनीहरुले कवितामार्फत सरकार निरंकुश र तानाशाही बनेको भन्दै नागरिकले यस्ता शासकलाई पछार्ने चेतावनी दिएका थिए ।

ads

ads