योग के हो ? यसको वास्तविक अर्थ र इतिहास

‘योग’ अर्थात् एक अथवा एकभन्दा बढी चिज एकदोस्रोमा समावेश हुनु, अथवा जोडिनु एकअर्कामा समावेश हुनु । सामान्यतया हाम्रो समाजमा जुन ‘योग’को कुरा गरिन्छ, त्यो मात्र शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि गरिने केही शारीरिक आसन हो भन्ने बुझिन्छ । तर, वास्तविक रुपमा योगको अर्थ त्यो भन्दा निकै फरक र माथि रहेको पाइन्छ ।

नेपाली समाजमा योगलाई एक आध्यात्मिक प्रक्रियाका रूपमा पनि मानिन्छ, जसमा शरीर, मन र आत्मालाई एकत्रित गरिन्छ । सजिलो अर्थमा योग त्यो प्रक्रिया हो ! जसद्वारा हामी शरीर, मन र आत्मालाई सकरात्मक तरिकाले एकसाथ समावेश गर्छौं, अध्यात्मको प्राप्तीका लागि एक दोस्रोसँग जोड्छौं मिलन हुन्छौं ।

ईश्वरको आराधनादेखि लिएर गीताका उपदेशसम्म, शरीरलाई स्वस्थ तथा स्फूर्तिवान राख्नदेखि लिएर तमाम बिमारीहरुको समाधानसम्म, आत्मादेखि शरीर तथा मस्तिष्कको शुद्धिसम्म, हरेक ठाउँमा योगका प्रकृयाहरू हुन्छन् ।

प्राचीन कालमा कलात्मक रुपमा साधाना गर्न तथा ईश्वरको तपस्या गर्न साधु सन्यासीहरु योगको सहारा लिने गर्दथे । हिन्दु संस्कृति तथा धार्मिक मान्यताअनुसार योगमा त्यस्तो शक्ति छ।जसलाई ब्रम्हाण्डका कुनै पनि शक्तिसँग दाँँध्न सकिन्न ।

योगमा साधकका लागि जस्तोसुकै कुरा पनि असम्भव हुँदैन । अहिलेका मान्यताहरुको कुरा गर्दा योग मात्र केही शारीरिक व्यायाममा मात्र सीमित छ । यहाँसम्म कि यति धेरै प्रसिद्ध हुँदा पनि अहिलेसम्म योगको कुनै खास परिभाषा समेत सुनिश्चित गरिएको छैन र पाईदैन पनि ।

गीतामा योगका बारै कैयौं ठाउँमा वर्णन गरिएको देखिन्छ । भगवान कृष्णले योगका तिनप्रकार बताएका छन्,

१. ज्ञान योग २.कर्म योग ३.भक्ति योग

जब कि योग प्रदीपमा यसका दशवटा प्रकारबारे वर्णन गरिएको छ ।
१. राज योग
२. अष्टाङ्ग योग
३. हठ योग
४. लय योग
५. ध्यान योग
६. भक्ति योग
७. क्रिया योग
८. मन्त्र योग
९. कर्म योग
१०. ज्ञान योग

यसको अलावा धर्म योग, तन्त्र योग, नाद योगबारे पनि केही ग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।

वेद, पूराण आदि ग्रन्थमा पनि योगका अनेक प्रकारबारे बताइएको छ ।आजका सन्दर्भमा हामी जुन योगबारे कुरा गर्छौं त्यसलाई ग्रन्थहरूमा ‘अष्टाङ्ग योग’ को नाम दिइएको पाइन्छ।

भारतका चर्चित योग गुरु- रामदेव र उनको संस्था पतंजलिले पनि मूख्यरुपमा योगको यही रुप (अष्टाङ्ग)लाई महत्व दिएको पाइन्छ । अष्टाङ्ग योग अर्थात योगका “आठ अङ्ग”। यी आठ अङ्गलाई सबै धर्मको सार मानिन्छन् ।ती आठ अङ्ग यसप्रकार रहेका छन् ।

१. यम
२. नियम
३. आसन
४. प्राणायम
५. प्रत्याहार
६. धारणा
७. ध्यान
८. समाधि

योगको उत्पत्तिबारे कुरा गर्ने हो भने वैदिक संहिता वा वेदहरुमा ९०० देखि ५०० ईसापूर्वको बीचका तपस्विहरुबारे उल्लेख गरिएको पाइन्छ । योग गर्ने साधकलाई पनि योगी भनिन्छ । योगी शब्द तपस्विहरुका हकमा पनि प्रयोग हुन्छ । धार्मिक मान्यता तथा ग्रन्थहरुमा पनि साधु तथा साधकहरुका तस्वीरमा साधनका दौरान उनीहरुलाई योग मुद्रामा नै देखाइएको छ । गौतम बुद्धदेखि लिएर महावीर स्वामी तथा शिवलाई पनि पद्मासन मुद्रामा देखाइन्छ ।

मान्यताहरुका हिसावले योगको उपदेश सर्वप्रथम हिरण्यगर्भ ब्रह्माले सनकादिको र त्यसपछि विवस्वान अर्थात सूर्यलाई दिएका थिए ।त्यसपछि उक्त ज्ञान दुई शखामा विभक्त भयो । एक ब्रह्मयोग र दोस्रो कर्मयोग । ब्रह्मयोगको परम्परा सनक, सनन्दन, सनातन, कपिल, आसुरि, वोढु र पच्चङ्शिख नारद (शुकदेवादि) ले सुरु गरेका थिए । यो ब्रह्मयोग मानिसहरुका बीचमा ज्ञान, अध्यात्म तथा साङ्ख्य योग नामले प्रसिद्ध भयो ।

त्यस्तै कर्मयोगको परम्परा विवस्वानको हो । विवस्वानले मनुलाई, मनुले इक्ष्वाकुलाई, इक्ष्वाकुले राजर्षिहरु एवम् प्रजाहरुलाई योगको उपदेश दिए । यी सबै कुराहरु वेद तथा पूराणहरुमा उल्लेख गरिएको पाइन्छ ।

वेदलाई संसारकै प्रथम पुस्तक मानिन्छ । जसको उत्पत्ति काल लगभग १०००० वर्ष पूर्व भएको बताइन्छ । त्यँही पुरातत्ववेत्ताको कुरालाई मान्ने हो भने योगको उत्पत्ति ५००० ईसापूर्वमा भयो । गुरु–शिष्य परम्पराद्वारा योगको ज्ञान परम्परागत तरिकामा आधारित भएर एक पीढीबाट अर्को पीढीलाई मिल्दै आयो । योगबारे सबैभन्दा आश्चर्यजनक खोज सन् १९२० को सुरुवातमा भएको मानिन्छ ।

ads

ads