काठमाडौंमा कम्तिमा २ लाख मानिस उतार्ने प्रचण्ड-नेपाल पक्षको तयारी

प्रतिनिधिसभा विघटनको विरुद्धमा सडक संघर्षमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले जारी आन्दोलनका कार्यक्रमलाई सशक्त बनाउने निर्णय गरेको छ। केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहीबार बसेको केन्द्रीय संघर्ष समितिको बैठकले घोषित संघर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो।

दुवै अध्यक्षको उपस्थितिमा बसेको केन्द्रीय संघर्ष समितिको बैठकले अहिलेसम्मका आन्दोलनका कार्यक्रमको समीक्षा गर्नुको साथै घोषित संघर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा निर्णय गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

बैठकले अबका कार्यक्रममा जनसहभागीता बढाउने र विपक्षी राजनीतिक दलका साथै नागरिक आन्दोलनलाई पनि समेट्नेबारे छलफल भएको जनाइएको छ। बैठकले माघ २८ गतेको वृहत प्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने निर्णयसमेत गरेको जनाइएको छ। यसअघि माघ ९ गते काठमाडौंमा विशाल शक्ति प्रदर्शन गरेको प्रचण्ड-नेपाल समूहले त्यसको दुई हप्तामै फेरि काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो।

प्रदर्शनमा कम्तिमा २ लाख मानिस उतार्ने तयारी छ। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक भन्दै सडक संर्घषमा रहेको प्रचण्ड-नेपाल पक्षले प्रतिनिधिसभा पुन:स्थापना नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ।

यसैबीच प्रतिनिधिसभा विघटनविरुद्ध यो समूहले आज पनि धर्ना दिने भएको छ। राजधानीको माइतीघर मण्डलामा हरेक दिन बिहान ११ बजेदेखि २ बजेसम्म धर्ना दिँदै आएको छ। दोस्रो चरणको आन्दोलनका कार्यक्रम जारी गर्दै बुधबारबाट माघ २१ गतेसम्म धर्ना कार्यक्रम तय गरेको हो। प्रचण्ड-नेपाल समूहले शुक्रबार सहिद दिवसका अवसरमा जुलुससहित सहिदहरुलाई श्रद्धाञ्जलि दिने कार्यक्रम तय भएको गरेको छ।

आजै यो समूहले बुटवलमा विरोधसभा गर्ने तयारी गरेको छ। विरोधसभामा सम्बोधन गर्नै दुवै अध्यक्ष बुटवल जाने भएका छन्।

ads

ads