नोबेल शिक्षण अस्पतालमा चिरफार बिनै निकाल्न थालियो पित्तनलीको ढुंगा

नोबेल शिक्षण अस्पतालमा कोरोना महामारीका कारण स्थगित भएको इआरसिपी उपचार पुनः सुरू भएको छ। नौ महिनापछि पुनः इआरसिपी उपचार पद्धतिमार्फत् मुखबाट इण्डोस्कोप छिराएर पित्त नलीको ढुंगा निकाल्न थालिएको हो।

कोरोना महामारीका कारण गत चैत महिनाबाट इआरसिपी सेवा रोकिएको थियो। लकडाउन खुलेर जनजीवन सामान्य बन्दै गएकाले पुनः इआरसिपी विधिबाट पित्त नलीको पथरिया निकाल्न थालिएको नोबेल अस्पतालका डा. रोहितप्रसाद यादवले बताए।

यो प्रविधिबाट नेपालमा बिरलै मात्र उपचार हुने गरेको दाबी नोबेलको छ। इआरसिपी विधि सुरू नहुँदा पित्त नलीको ढुंगा निकाल्न चिरफार वा ल्याप्रोस्कोपिक विधि प्रयोग गरिन्थ्यो।

यो विधिबाट अप्रेसन गर्दा पेट र पित्त नली दुबै चिर्नुपर्छ। ल्याप्रोस्कोपिक विधिमा पनि पेटमा प्वाल पारेर पित्त नली चिरेर मात्र ढुंगा निकाल्न सकिन्छ।

पित्त नली चिरेर ढुंगा निकाल्दा निको हुन बढी समय लाग्ने, चिरेको ठाउँमा सिलाउन गाह्रो हुने र संक्रमणको खतरा हुन्छ।

तर, इआरसिपी विधिमार्फत मुखबाट इण्डोस्कोप छिराई ढुंगालाई तानेर मुखबाटै वा दिसाको माध्यमबाट बाहिर निकालिने हुनाले बिरामीलाई खासै असर नपर्ने चिकित्सकको भनाइ छ। घाउ नहुनाले बिरामी दुई दिनमै घर फर्कन सक्ने डा. यादव बताउँछन्।

पित्त नलीमा क्यान्सर, ढुंगा बसेर जण्डिस भएका बिरामीको उपचार र आन्द्राको क्यान्सर तथा पैंक्रियाजको क्यान्सर पत्ता लगाउन पनि यो विधि प्रभावकारी हुने यादवले बताए।

नेपालका केही अस्पतालहरूमा मात्र प्रयोगमा रहेको यो उपचार पद्धति नोबेलले २०७५ पुसबाट सुरुवात गरेको थियो।

ads

ads