स्पेनिस सुपरकपको फाइनलमा मेस्सीलाई रातो कार्ड, बिलबाओ विजयी

लियोनल मेसीले स्पेनिस सुपरकपको फाइनलमा रातो कार्ड खाएका छन् । बार्सिलोनाबाट खेल्ने क्रममा उनले पहिलो रातो कार्ड पाएका हुन् ।

एसियर भिल्लालिब्रेमाथि हात उठाएका मेस्सीलाई भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) को मद्दतले रातो कार्ड देखाइयो । मेस्सीको हर्कतलाई मैदानमा रहेका रेफ्रीले शुरुमा देखेका थिएनन् तर भीएआर स्क्रिनमा हेरेपछि उनले मेस्सीलाई रातो कार्ड देखाए ।

३३ वर्षीय खेलाडी मेस्सीले आफ्नो करियरमा यसअघि दुई पटक मात्र रातो कार्ड पाएका छन् । सन् २००५ मा हंगेरीविरुद्ध अर्जेन्टिनाका लागि डेब्यु खेल र २०१९ मा कोपा अमेरिकाअन्तरगत चिलीविरुद्ध तेस्रो स्थानको प्लेअफमा । मेस्सी अब कम्तिमा ४ खेलमा प्रतिबन्धित हुनसक्छन् । सुपरकपको प्रतिबन्ध लिग र कप खेलमा पनि लागू हुन्छ ।

बार्सिलोनाले खेलमा दुई पटक एन्टोनी ग्रिजमानको गोलको मद्दतले अग्रता लिएको थियो । तर, एथ्लेटिकोका लागि ओस्कार डे मार्कोस र भिल्लालिब्रेले बराबरी गोल फर्काएका थिए ।

निर्धारित समयमा खेल बराबरीमा टुंगिएपछि खेलको अतिरिक्त समयमा इनाकी विलियम्सले विजयी गोल गरेपछि एथ्लेटिको बिलबाओ ३–२ ले विजयी बन्यो ।

ads

ads