पार्टीले चाहेर ओलीलाई प्रधानमन्त्री बनाएको हो, जनताले होइन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन्।

पार्टीले प्रधानमन्त्री बनाएको हुनाले पार्टी निर्णय नमानेपछि प्रधानमन्त्रीबाट फिर्ता र अनुशासनको कारवाही पार्टीले गर्न सक्ने प्रचण्डको भनाइ छ।

‘तपाईंलाई जनताले प्रधानमन्त्री बनाएको होइन। त्यसो हुँदो हो त हाम्रो २७५ जना नै प्रधानमन्त्री हुन्थे। एउटै मात्रै प्रधानमन्त्री हुन्थ्यो त? सबै निर्वाचित सांसद हुन्। सबै प्रधानमन्त्री हुँदैन। तपाईंलाई पार्टीले प्रधानमन्त्री बनायो। चाहेपछि झिकिदियो। अनुशासनमा राख्ने र नसके कारवाही गर्ने भन्ने तपाईंलाई थाहा थियो,’ प्रचण्डले काठमाडौंमा आज आयोजित राष्ट्रिय युवा संघको बैठकमा भने।

प्रचण्डले प्रधानमन्त्री ओलीको बाटोमा आफू कुनै हालतमा हिंड्न नसक्ने बताए। ‘हामी तपाईँको बाटोमा हिँड्न सक्दैनौं। तपाईले रोजेको पतनको बाटो हो। त्यो बाटो हामीलाई स्वीकार्य छैन। तपाईसँग हाम्रो व्यक्तिगत केही रिसिबी छैन। त्यो बाटोलाई घृणा गरेका हौं। गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्नु परेको हो।’

ads

ads