काठमाडौं । एकै रातमा काठमाडौंका विभिन्न बैंकका एटीएम बुथबाट अर्बौं रकम झिक्ने चिनियाँ नागरिकको योजना प्रहरीले असफल पारेको छ । भदौ १३ गते शुक्रबार नेपाल आएको चिनियाँ टोलीले काठमाडौंका नबिल, प्रभु र हिमालयन बैंकका एटिएमबाट रकम निकालेको प्रहरीले जानकारी दिएको छ ।
साबिकको रकम झिक्ने फ्रिक्वेन्सीभन्दा निकै चाँडो रकम झिकेपछि शंका लागेर प्रहरीलाई खबर गरेपछि दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट एकजना चिनीयाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । दरबारमार्ग, कमलपोखरी र सोर्हखुट्टेबाट खटिएको प्रहरी टोलीले पक्राउ परेका एकजनाको बयानका आधारमा अन्य चारजनालाई पनि हात्तिसारस्थित माया मनोहर बुटिकको कोठा नं. २०१, ६०२ र ६०४ बाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले होटलबाट निस्किने क्रममा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लीङ ज्यामिङ (पासपोर्ट नम्बर – E32377713), लुओ ज्यालिप (पासपोर्ट नम्बर – E095526374), झु लियाङग्याङ् (पासपोर्ट नम्बर – Ec1937558), क्यू योङसिङ् (पासपोर्ट नम्बर – EH0277650) र सेन बिनबिन (पासपोर्ट नम्बर – E89056825) रहेका छन् ।
उनीहरुको साथबाट एक करोड ३६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, यूएस नौ हजार एक सय आठ, चिनीयाँ मुद्रा ११ सय ११, यूरो दुई सय पचास, कम्बोडियन पाँच हजार, हङकङ डलर ८० सहित एटीएमबाट रकम झिक्न प्रयोग गरिने सामग्रीहरु नक्कली भिसा १३२ थान, सक्कली भिसा थान १७ थान, कार्ड प्रिन्टर मेसिन एक थान, मोबाइल छ थान, ल्यापटप एक थान, सामसुङ एक थान र डाटा कार्ड एक थान बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार भदौ १६ गते सोमबार उनीहरुले फर्किने योजना बनाएका थिए । प्रहरी अधिकारीका अनुसार उनीहरुले बैंक खातामा रहेको रकम निकाल्न नसके पनि एटिएम बुथमा रहेको सबै रकम झिक्न सक्ने प्रविधिको प्रयोग गरेको खुलेको छ । प्रारम्भिक अनुसन्धानबाट एक करोड ६८ लाख ५४ हजार चार सय २० रुपैयाँ निकालिएको देखिएको छ । जसमध्ये एक करोड ३६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ बरामद गरिसकेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्