प्रधानमन्त्रीको जिल्लामा फेरि अर्को ११ तलाको भ्यू–टावर निर्माण हुने

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र तथा गृहनगर दमकमा १५ महिनादेखि १८ तले भ्यू टावरको निर्माणले तीव्रता पाइरहेकै बेला उनकै जिल्लामा पर्ने मेचीनगरमा ११ तले अर्को भ्यू टावर निर्माण हुने भएको छ ।

दमकमा करिब डेढ अर्ब लागतमा निर्माणाधीन भ्यू टावरमा ३० प्रतिशत भन्दा बढी काम भइसकेको छ । झापाकै मेचीनगर ६ को शिवालय मन्दिर परिसरमा ३३ मिटर अग्लो भ्यूटावरको शिलान्यास गरिएको छ ।

प्रदेश सरकारको उद्योग, वन तथा वातावरण मन्त्रालयको ७० प्रतिशत र मेचीनगर नगरपालिकाको ३० प्रतिशत लागतमा भ्यू टावर बन्न लागेको हो । भ्यू टावर शिलान्यास गर्न प्रदेश सांसदहरु श्रीप्रसाद मैनाली, राधा थापा र गोपाल चन्द्र बुढाथोकी उपस्थित थिए ।

सांसदहरुकै पहलमा प्रदेश सरकारले भ्यू टावरका लागि बजेट विनियोजन गरेको हो । मेचीनगरकी उपप्रमुख मीना उप्रेतीका अनुसार टावर निर्माणको ठेक्का झापाकै कनकाई इन्टरनेसनल बिल्डर्स प्रालिले ३ करोड २९ लाखमा लिएको छ ।

गत मंसिर २९ मा निर्माण ठेक्का सम्झौता भएको छ ।सम्झौताअनुसार अर्को वर्ष पुस २८ मा निर्माण सम्पन्न गर्नुपर्ने छ । मेचीनगरका प्रमुख विमल आचार्यले भारत, बंगलादेश लगायत मुलुकबाट भित्रने पर्यटकलाई लक्ष्य गरेर भ्यू टावर निर्माण गर्न लागिएको जनाए ।

ads

ads