नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको हालसम्मकै ठूलो आईपीओ आज शुक्रबारदेखि बिक्री खुला

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ आज शुक्रवारदेखि सर्वसाधारणका लागि बिक्री खुला हुँदैछ । सो बैङ्कको ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर बिक्रीका लागि खुला गरिएको हो । यो शेयर हालसम्म बजारमा जारी भएका साधारण शेयरमध्येकै सबैभन्दा ठूलो हो । यो शेयरका लागि आगामी मंगलबार साँझ ५ बजेसम्म आवेदन दिन सकिनेछ ।

नेपालकै एकमात्र पूर्वाधार बैङ्कको रुपमा रहेको इन्फ्रास्ट्रक्चर बैङ्कले आफ्नो चुक्ता पुँजीलाई २० अर्ब पुर्याउन सो बराबरको आईपीओ ल्याउन लागेको हो । ८ अर्बको रुपैयाँको ८ करोड कित्ता आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामुहिक लगानी कोषका लगानीकर्तालाई तथा ०.२० प्रतिशतले हुने १ लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गरिनेछ ।

निफ्राले आईपीओ निष्कासनका लागि यही मंसिर ८ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बोर्डले निवेदनबारे अध्ययन गरी मंसिर २४ गते बैङ्कलाई आवश्यक जिज्ञासा पठाएको थियो । बोर्डले पठाएका जिज्ञासाको बारेमा जवाफ प्राप्त भएपछि बोर्डले पुस १० गते बैङ्कको आईपीओ र विवरणपत्रलाई अन्तिम स्वीकृति दिएको थियो ।

बोर्डको स्वीकृतिसँगै सो विवरणपत्र राष्ट्र बैङ्क र कम्पनी रजिष्ट्रारमा दर्ता गरि विवरणपत्रसहित आह्वानपत्र समेत प्रकाशन गरिसकेको छ । यसअघि बैङ्कले एनआईबीएल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । शेयरको प्रत्याभूतिकर्ता भने नागरिक लगानी कोषलाई तोकि सकिएको छ ।

ads

ads