कसैले चाहेर पनि मलाई हटाउन सकेनन्: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकमा स्थिरता छाएको दाबी गरेका छन् । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वान हुने केही दिन पहिले मात्रै विघटनको सिफारिस गरेका उनले आफूलाई कसैले चाहेर पनि प्रधानमन्त्रीबाट हटाउन नसकेको दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसिभा विघटन गर्न सिफारिस गरेका थिए । उनको सिफारिसको केही घण्टामा नै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी थिइन् । सोही दिन नेकपाकै प्रतिनिधिसभाका ९० सांसदले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिनिधिसभा विघटन गर्नुपर्नाको कारण आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको भनेर प्रधानमन्त्री ओलीले सार्वजनिक अभिव्यक्ति दिएका थिए । प्रतिनिधिसभामा पुष्पकमल दाहाल, माधवकुमार नेपाल पक्षका सांसदहरूले ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रधानमन्त्री ओलीले आफूसँग बहुमत रहेको दाबी गर्दै आएका थिए ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले अहिलेको अवस्था स्थायित्वको रहेको बताएका छन् । उनले भने, ‘अहिले स्थिरता र स्थायित्वको स्थिति हो । कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सकेनन् ।’ आफूलाई जनताले प्रधानमन्त्री बनाएको भन्दै उनले पदबाट राजीनामा दिएर जोसुकैलाई हस्तान्तरण गर्न नहुने जिकिर गरे ।

ads

ads