न्युरोड-संकटा सडकमाथि राखिएको छाता हटाउन सुरू

समाजिक संजालमा भाइरल भएको न्युरोड-संकटा सडकमाथि राखिएको छाता हटाउन सुरू गरिएको छ। उक्त सडकमा दैनिक १५ हजार मान्छे घुम्न आउने गरेको संकटा क्लबले जानकारी दिएको छ।

कोरोना महामारीपछि बजार सुस्ताएपछि बजारमा पुन चहलपहल बढाउने उद्धेश्यले स्थानीय व्यापारी र संकटा क्लबले सडकमाथि रंगीचंगी छाता राखेर आकर्षण थपेको थियो। मुख्य व्यापारिक केन्द्र न्युरोडमा पछिल्लो दुई सातायता ट्राफिक व्यवस्थापन, सवारी आवागमनमा समेत समस्या परेको थियो।

पछिल्लो समयमा व्यापार बढ्नु भन्दा झन धेरै समस्या आएको कारणले सबै मिलेर छाता हटाउने निर्णय गरेको क्लबले जानकारी दिएको छ। ‘मानिसहरूको आवतजावत बढाउन हामीले छाता राख्ने उपाय लगायौं, भीड व्यवस्थापन गर्न सकेनौं र हटाउने निर्णयमा पुग्यौं।’ संकटा क्लवका सचिव आशिषमान सिंहले भने।

पुस ५ गतेदेखि संकटा सडकमा छाता राख्न सुरू गरिएको थियो। यहाँ डेढ सय मिटर सडकमाथि चार सय बढी छाता थिए। सिंहका अनुसार छातामा मात्र करिब तीन लाख खर्च भएको थियो। चाडपर्व वा मेलाजात्रामा फेरि छाता राख्नेबारे योजना बनाउने सिंहले बताए।

ads

ads