उखुको रकम पाउन संघर्ष गर्दागर्दै यादवले आफ्नो ज्यान गुमाए

सरकारसँग सोमबार सहमति भए पनि उखु किसान ६४ वर्षीय नारायण राय यादव भुक्तानी नपाइएला कि भनेर ‘चिन्तित’ थिए ।

यादवले अन्नपूर्ण चिनी मिलबाट झन्डै २४ लाख रुपैयाँ बक्यौता पाएका रहेनछन् । यसपटक आन्दोलनकै बेला १ लाख ६० हजार रुपैयाँ भने पाए । उनै किसान यादवको मंगलबार हृदयाघातका कारण निधन भएको छ । सर्लाहीको धनकौल–७ छोटवलका यादवको मंगलबार बिहान करिब ९ बजे सहिद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो । उनी आन्दोलनमा सहभागी हुन मंसिर ३० गते काठमाडौं आएका थिए ।

काठमाडौं आएदेखि जोरपाटीस्थित कृष्ण मन्दिरमा बसेका थिए । बिहान आन्दोलन गर्न माइतीघर पुग्थे र बेलुका फर्किन्थे । तर मंगलबार एकैचोटी उनी बिरामी परेको खबर गौशालामा बस्ने साथीहरूलाई आएको उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए । ‘मंगलबार बिहान जोरपाटीबाट एक्कासि साथीहरूको फोन आयो – यादवलाई छाती दुखेर गाह्रो भयो,’ संरक्षक मिश्रले भने, ‘यहाँबाट केही साथीहरू गयौं ।’

उनलाई शुरूमा चाबहिलस्थित हेल्पिङ हेन्ड्स अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँका डाक्टरले अवस्था अलिक गम्भीर छ भनेर गंगालालमा रेफर गरेका थिए । मिश्रले गंगालाल पुर्‍याइएको केही समयमै यादवको निधन भएको जानकारी दिए । ‘गंगालालमा पुर्‍याएपछि डाक्टरले हर्ट अट्याक्ट भन्नुभयो,’ मिश्रले भने, ‘सुरूमा ठीक हुन्छ भन्नुभएको थियो । तर उहाँ बित्नुभयो ।’

संघर्ष समितिका महासचिव गोपाल यादवका अनुसार नारायणको परिवारले २० बिघा जग्गामा उखु खेती गर्दै आएको छ । बागमती नदी बगरमा उखु खेती गर्दै आएका नारायणका श्रीमती, २ छोरा र १ छोरी छन् । उनीहरू १९ जनाको संयुक्त परिवारमा बस्छन् । उनी रकम लिएर आउने आसमा बसेका परिवारजन मृत्युको खबर खुनेर भावविह्वल भएका छन् ।

‘उहाँले अन्नपूर्ण चिनी मिलबाट २४ लाख भुक्तानी पाउन बाँकी थियो,’ मिश्रले भने, ‘आन्दोलनका क्रममा केही रकम पाउनुभएको थियो । बाँकी पैसा पाउने सहमति भएको थियो । तर नपाउँदै यस्तो दुःखद घटना भयो ।’ उनीसहित किसानको बाँकी बक्यौता सरकारले ३ हप्ताभित्र उपलब्ध गराउने सहमति जनाएको छ ।

लामो समयदेखि भुक्तानी नपाएपछि उनीजस्ता उखु किसानले १६ दिनदेखि माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका थिए । उनीहरू सोमबार दिउँसो सहमति भएसँगै मंगलबार घर जाने तयारीमा थिए । महासचिव यादवले सम्झौताअनुसार भुक्तानी पाउन ४–५ जनाको समूह काठमाडौंमै बसेर निरन्तर खबरदारी गरिरहने बताए । तर १ जनाकोे हृदयघातका कारण निधन भएसँगै उखु किसान चिन्तित भएका छन् ।

महासचिव यादवका अनुसार नारायण आन्दोलनको उपलब्धि हुनेरनहुनेमा चिन्तित देखिन्थे । उनी कुनै बिरामी भने थिएनन् । महासचिव यादवले सबै किसानको सल्लाहमै सोमबार सरकारसँग सहमति गरिएको बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार वार्ताका लागि तीन जना किसान मात्रै बोलाए पनि १० जनाभन्दा बढी सहभागी थिए । तर विशेष कारण मृतक यादव सहभागी नभएको महासचिव यादवले बताए ।

मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीसहित कृषि, गृह र अर्थ मन्त्रालयका सहसचिव मृतकलाई श्रद्धाञ्जली दिन अस्पताल पुगेका थिए । मृतकको पार्थिव–शरीर दाहसंस्कारका लागि सर्लाही लगिएको मिश्रले बताए ।

नेपाल उखु उत्पादक संघका सहसंयोजक राजकुमार उप्रेतीले मृतकलाई सरकारले सहिद घोषणा गर्नुपर्ने माग गरे । ‘उहाँले बाँचेसम्म किसानको आवाज बोल्न छाड्नुभएन,’ सहसंयोजक उप्रेतीले भने । उप्रेतीले राज्यकै नीति किसानमारा रहेको गुनासो गरे । ‘यो देशमा राज्यभन्दा चिनी उद्योगी शक्तिशाली देखियो । पैसाको तागतमा उद्योगपतिले सरकारलाई किनेजस्तै छ,’ उनले भने, ‘उद्योगपतिसामु सरकार निरीह छ । किसानको पसिना पिएर उद्योगपति मोटाएका छन् ।’ उद्योगीलाई थुन्नुको साटो सरकारले भुक्तानी दिने २१ दिनको समय दिएको भन्दै उनले असन्तुष्टि जनाए । ‘पोहोर साल पनि त उद्योगीलाई समय दिएकै थियो । अनि फेरि किन समय दिनुपर्‍यो ?’ उनले भने ।

वार्षिक ८० लाख क्विन्टलसम्म उखु उत्पादन भएको सर्लाहीमा ४०–५० लाख क्विन्टलमा झरेको छ । ‘उद्योगीले उधारोमा उखु किन्छन्। किसानलाई भुक्तानी दिँदैनन्,’ उखु उत्पादक महासंघ नेपालका अध्यक्ष कपिलमुनी मैनालीले भने, ‘ऋणले किसानको जीवन लिलामीमा चढिसक्यो । सरकारले कुनै मतलब गर्दैन ।’

किसानले ऋण काढेर उखु खेती गर्छन् । तर समयमै उचित मूल्य नपाउँदा समस्यामा पर्दै गएका छन् । धेरै बिघामा उखु खेती गर्दा पनि चिनी उद्योगीले लामो समयदेखि भुक्तानी नदिएपछि कैयौं किसानको रोजीरोटीमा समस्या भएको छ । उद्योगीले भुक्तानी नदिँदा किसानले ल्याएको ऋणको मिटर समेत बढ्दै जाने र उद्योगबाट भुक्तानी नआउँदा उखु किसान हैरानीमा पर्ने गरेका छन् । किसानले प्रतिकठ्ठा औसतमा ४० क्विन्टल उखु उत्पादन गर्छन् । एक कठ्ठाबाट औसत २२ हजार रुपैयाँ आम्दानी हुन्छ ।

सरकारले आन्दोलन सुरु गरेको दोस्रो दिनमै उद्योगी र किसानलाई वार्तामा बोलाएको थियो । तर गत वर्ष भएको सम्झौताअनुसार भुक्तानी हुन नसकेको भन्दै किसानले वार्ता बहिष्कार गर्दै आएका थिए । धेरै पटकको वार्तापछि २१ दिनभित्र भुक्तानी दिलाउने, उखु किसानका वर्षौैंदेखिका समस्या समाधान गर्ने सहमति भएको छ । समस्या समाधान गर्न एक समिति बनेको छ ।

ads

ads