राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको छ। बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भराउने सूचना निकालेको छ।
२०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो। बोर्डले बुधबार निकालेको सूचनाअनुसार आवेदन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ।
सम्बन्धित विद्यालयहरुले आफ्नो विद्यालयमा नियमित अध्ययन गरिरहेका विद्यार्थीको विवरण पछिसम्म पनि फरक नपर्ने गरेर प्रमाणित गरी २०७७ सालको माघ मसान्तभित्र राजश्व शुल्कसहित फाराम शिक्षा विकास तथा समन्वय इकाईमा बुझाइसक्नुपर्ने छ ।
कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको परिस्थितिले अन्योलकाबीच रजिष्ट्रेशन फारम र आवेदन फारम भर्ने समय ढिलो गरेर तोकिएको हो । आवेदन फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ। यस्तै बोर्डले कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम भर्न पनि सूचना निकालेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्