काठमाडौं । सवारी साधानको कुम्भ मेला भनेर चिनिने नाडा अटो शोको चौधौं संस्करण राजधानीमा सुरु भएको छ । मेला सुरु भएसँगै ठप्पप्रायः रहेको अटो व्यवसायमा नयाँ तरंग आउने अपेक्षा गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सुरु गरेको मेलामा व्यवसायीले अलि बढी मिहिनेत गरेको देखिन्छ । कारण हो, व्यवसायमा छाएको मन्दी र व्यवसायीबीच बढेको स्वच्छ प्रतिस्पर्धा ।
नाडामा सुसज्जित भएका स्टेजले पनि त्यस्तै झल्काउँछ । सबै व्यवसायी आफ्नो स्टलमा अवलोकनकर्ताको भीड बढाउन चाहेको देखिन्थे तर, प्रतिष्पर्धी कम्पनीको भीड नबिथोलिकन । उपभोक्ता पनि हरेक कम्पनीका स्टल भिजिट गरेका देखिन्थे, कारण सबैलाई राम्रो गाडी किन्नु थियो त्यही पनि सस्तो मूल्यमा ।
यसअघि अर्थमन्त्री खतिवडाले भाषणमा भने झैं अवलोनककर्ताको चाप भने कमै थियो, सायद त्यो पहिलो दिन भएकाले होला । तर, सवारी किन्न आउने सबैजसोको ध्यान महंगा र बढी फिचर भएका सवारीमा देखिन्थ्यो । सोही कारण पनि व्यवसायीले महंगा गाडीलाई फ्रन्टलाइनमै राखेको हुनुपर्छ । ग्राहकहरु पनि तिनै सवारीबारे सोध्न आतुर देखिन्थे । कोही भने गाडीभित्रै पसेर गाडी चढ्दा हुने ‘फिल’ बटुल्दै थिए । यसो त फिचरका आधारमा पनि नाडा अटो शोका महंगा गाडी नै अब्बल देखिन्छन् । सुरक्षा र आकर्षक डिजाइन सबै प्रतिस्पर्धी सवारीको ‘प्वाइन्ट अफ एट्र्याक्सन’ रहेको थियो ।
उपभोक्ता झुम्मिएका जैविक इन्धनबाट चल्ने केही सवारी हुन् ह्युन्डाईले भर्खरै सार्वजनिक गरेको भेन्यु, कियाको किक्स, जिप कम्पासका दुई नयाँ भेरियन्ट, कियाको स्पोर्टेज, टाटाको नयाँ गाडी एच फाइभ, महिन्द्राको चारवटा मोडलहरु, फोटोन गाडी, फोर्डको थन्डर र र्याप्टर, फक्सवागनको टिगुआन अलस्पेस, रेनोको ट्राइबर, टोयोटाको नयाँ र्याभ फोर, एमजीका जीएस र जेडएस, इसुजु आदि । त्यसो त, सुजुकी र टोयोटाका हाइब्रिड कार तथा किया, ह्युन्डाई, बीवाईडी, दीगो आदिमा उपभोक्ताको राम्रै चाप थियो । मूल्यका आधारमा पौने करोडभन्दा बढीका यी कारमा उपभोक्ताको भिड देखिन्थ्यो ।
तपाईको प्रतिक्रिया दिनुहोस्