झुप्रीले १३ वर्षको उमेरमा मुसाको विष सेवनको गरेकी थिइन्

झुप्री भण्डारीले आफ्नो जीवनको दुःख मथेर यो ठाडी भाका तयार पारेकी हुन् । उनीसँग दृष्टि छैन तर, निकै कममा हुने कर्णप्रिय स्वर छ । त्यही स्वरमा आफ्नो जीवन भोगाईको सानो अंश शनिबार रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को ब्लाइन्ड अडिसनमा गाइन् । अनि दर्शकको आँखामा छाइन् ।

झुप्रीलाई ह्वाइट केन (सेतो छडी) के हो थाहा छैन । गाउँबाटै टेक्दै आएको काठको लठ्ठी छ । त्यसैले काठमाडौंको बाटो खुट्याउँछिन् । बीचबाट सिउँदो काँटेर चिटिक्क एक चुल्थे कपाल बाटेकी छिन् । घाँटीमा तीन वटा पोते छन् । एउटा पहेँलो तिलहरी । तिलहरी ग्यारेण्टी वाला रे । काठमाडौं आउँदा सदरमुकाम मंगलसेनमा किनेको । घाँटीमा टमक्क चाप बाँधेकी छिन् । भन्दैछिन्, ‘चाँप बाँध्न त मन पर्छ नि ! बरु नयाँ कपडा लगाउँनै मन पर्दैन ।’

यतिबेला भने झुप्री रातो रङको फुलबुट्टे नयाँ कुर्ता सुरुवालमा सजिएकी छन् । त्यही कुर्तामा उनी दुई हप्तादेखि भ्वाइस अफ नेपालको बन्द प्रशिक्षणमा छिन् । र, पनि झुप्रीलाई बाँच्नै मन छैन । किन ? यसको जवाफ उनीसँग होइन उनको समाजसँग छ । जुन समाजमा उनले अपमान, घृणा र तिरस्कार पिउँदै जीवनको ३० वर्ष बाँचिन् । एक जना दिदीपछि झुप्री जन्मिएकी थिइन् । उनीपछि दुई भाइ र एउटी वहिनी जन्मिए ।

मंगलसेन नगरपालिका ६ ठूलासेनाको त्यो भिरालो पाखामा दृष्टिबिनाकी झुप्रीले बल्यकालमा कति संघर्ष गर्नुपर्‍यो ? यो सबै सुनाउन झुप्री उत्साहित छैनन् । बरु मर्नका लागि गरेको संघर्ष पो सनाइन् । जसको लागि उनले १३ वर्षको उमेरमा मुसाको विष सेवनको गरेकी थिइन् । त्यतिबेला उनलाई लागेको थियो, ‘पल पल मरेर बाँच्नुभन्दा एकै पटक मर्नु आनन्द तर, झुप्रीको शरीरले त्यो विष पचायो । अर्को पटक फेरि मेटासिट पिइदिइन् । निकै असहज मान्छिन्, झुप्री खुल्नलाई । उलने असहज कुरा नै भनिन्, ‘मलाई त कालले पनि माया गरेन ।’

झुप्री जति बोल्छिन्, निराशा बोल्छिन् । र, भोलिको दिन पनि अध्यारो देख्छिन् –आफ्नै आँखा जस्तो । तर अहिले उनको जीवनमा जे जे भइरहेको छ, उनले नसोचेको भइरहेको छ । त्यसैले उनले नसोचेरै बोल्छिन्, ‘बाँच्ने मन त कहाँ छ र !’केही गरेर देखाउँछु भन्ने आँट त पलाइसकेको छैन । तर, उनको मन कलिकति बद्लिएको छ । झुप्रीको बद्लिएको मन बोल्छ, ‘मलाइ घर फर्कनै मन छैन । त्यस्ता गाउँलेको नजिक जानुभन्दा यतै केही काम गरेर बस्न पाए हुन्थ्यो । उनीहरुसँग हात थापेर खान नपरोस् भन्छु । तर देखेको पाइँदैन, लेखेको हुनुपर्छ ।’

ads

ads