सन्दिपले हालसम्म खेलेका विदेशी टि-२० लिगहरु मध्ये यो सबैभन्दा किफायती बलिंग

वेस्टइन्डिजको ट्रिनिडाड एण्ड टोबागोमा जारि करेबियन प्रिमियर लिग (सिपिएल ) टि-२० अन्तर्गत नेपाली स्पिनर सन्दिप लामिछानेले गायना अमेजन वारियर्स बिरुद्ध सनसनीपूर्ण बलिंग प्रदर्शन गर्दै नयाँ किर्तिमान बनाएका छन्।

आइतबार बिहान सम्पन्न खेलमा टस हारेर ब्याटिंग गर्ने क्रममा गायना अमेजन वारियर्सलाई जमैकाले १९.१ ओभरमा ११८ रनमा सिमित गरेको थियो त्यस क्रममा सन्दिपले ४ ओभरमा मात्र ८ रन खर्चेर २ विकेट लिएका थिए।

खेलमा पराजित भएता पनि सन्दिपले नयाँ किर्तिमान कायम गरेका छन्। ११९ रनको लक्ष्य पछ्याउने क्रममा जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो।

सन्दिपको नयाँ किर्तिमान

सन्दिपले हालसम्म खेलेका विदेशी टि-२० लिगहरु मध्ये ४ ओभर बलिंग गर्दा वा खेलमा आफुले पाएको पुरा ओभर बलिंग गर्दा गरेको यो सबैभन्दा किफायती बलिंग हो।यस अघि खेलमा पुरा ओभर बलिंग गर्दा सन्दिपले सबैभन्दा कम ११ रन खर्चिएका थिए।

२०१९ को बिग ब्यास लिगमा सिड्नी थन्डर्स बिरुद्ध ३.४ ओभर बलिंग गर्दा सन्दिपले मात्र ११ रन खर्चेर ३ विकेट लिएका थिए। अन्तिम ब्याट्सम्यानको विकेट लिएपछि सन्दिपको स्पेल सकिएको थियो।

यस्तै खेलमा पुरा ४ ओभर बलिंग गर्दा २०१८ को करेबियन प्रिमियर लिगमा गायना बिरुद्ध सन्दिपले ४ ओभरमा मात्र १२ रन खर्चेर २ विकेट लिएका थिए।

नेपाली राष्ट्रिय टिमको लागि टि-२० अन्तर्राष्ट्रियमा सन्दिपको सबैभन्दा किफायती बलिंग स्पेल थाइल्याण्ड बिरुद्धको ४-२-९-१ हो। यसै वर्ष मार्चमा थाइल्याण्डमा सम्पन्न एसीसी इस्टर्न टि-२० प्रतियोगिता अन्तर्गत सन्दिपले थाइल्याण्ड बिरुद्ध ४ ओभरमा ९ रन मात्र खर्चेर १ विकेट लिएका थिए जुन क्रममा २ मेडन ओभर गरेका थिए।

नेपालको टि-२० अन्तर्राष्ट्रियमा सबैभन्दा किफायती स्पेलको कुरा गर्दा सन्दिपको थाइल्याण्ड बिरुद्धको उक्त स्पेल चौथो किफायती हो। सबैभन्दा किफायती स्पेलको किर्तिमान पवन सर्राफको नाममा रहेको छ जसले गत वर्ष डिसेम्बरमा नेपालमा आयोजित दक्षिण एसियाली खेलकुद ( साग ) मा माल्दिभ्स बिरुद्ध ३ ओभरमा मात्र ३ रन खर्चेका थिए। उनले ३ ओभरमा २ ओभर मेडन गर्दै १ विकेट लिएका थिए।

ads

ads