नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एकैदिन ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एकैदिन ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एकजनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका—११ का ५६ वर्षीय पुरुषको साउन १५ गते मृत्यु भएको हो । मुटुको रोगी ती पुरुषको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । साउन ६ गते कोरोना पुष्टि भएपछि उनलाई ७ गते गण्डक अस्थायी कोरोना अस्पताल भर्ना गरिएको थियो ।

यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ का ३५ वर्षका पुरुषको साउन १५ गते नै गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साउन ५ गते नीजि क्लिनिक हुँदै तराई अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि गण्डक अस्पताल भर्ना भएका थिए । १३ गते अस्पताल भर्ना उनको नमुना संकलन गर्दा १५ गते नै कोरोना पुष्टि भएको थियो । यस्तै वीरगञ्ज–२ का ६५ वर्षीय अर्का पुरुषको पनि साउन १५ कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए । उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै वीरगञ्ज ११ स्थायी घर भइ ललितपुरको थसिखेल ५ बस्ने महिलाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको प्रवक्ता डा.गौतमले बताए । मधुमेहका विरामी ती महिला साउन ६ गते अस्पताल भर्ना भएकी थिइन् । ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या आएपछि उपचारका लागि स्टार अस्पतालमा भर्ना भएकी थिइन् । साउन ६ गते कोरोना पुष्टि भएपछि उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
मृत्यु अधिकांश दीर्घरोगी

साउन महिनामा कोभिड–१९ को संक्रमणबाट वीरगञ्जमा मृत्यु भएकामध्ये धेरै दीर्घरोगी छन् । ४ जनामा मुटुसम्बन्धी समस्या थियो । उनीहरुमध्ये दुई जनामा मधुमेह पनि थियो । यस्तै दुई जना मृगौलासम्बन्धी समस्याले पीडित थिए भने एक जना मधुमेहको उपचार गराउँदै आएका व्यक्ति हुन् । धेरै संक्रमितमा अक्सिजन कमी हुने र श्वासप्रस्वासमा समस्या आउने गरेको अस्थायी कोभिड अस्पताल गण्डकका कोअर्डिनेटर डा. उदयनारायण सिंह बताउँछन् ।

‘पछिल्ला दिनमा लक्षण भएका संक्रमित धेरै देखिएका छन्’ उनले भने, ‘संक्रमित मध्ये दीर्घरोगीहरुलाई बढी गलाएको छ । शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि उनीहरुले श्वास लिन सक्दैनन् र मृत्यु हुने गरेको छ ।’ तर दीर्घरोग नभएका एक जना पुरुष र महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । संक्रमितको उपचारमा संलग्न डा. निरज सिंहकाअनुसार युवा उमेरकाहरुमा संक्रमणको असर तत्काल देखिँदैन । त्यसैले उनीहरुले उपचारका लागि पनि ढिलो आउँछन् । त्यही कारण जोगाउन गाह्रो भएको उनी बताउँछन् ।

‘बिहीबार मृत्यु भएका ३५ बर्षीय युवकलाई साउन ५ गते ज्वरो आएको रहेछ, तर १३ गते मात्रै स्वाब संकलन भयो । रिपोर्ट नआउँदै उनको स्वास्थ्य अवस्था बिग्रिन थालिसकेको थियो’ डा सिंहले भने, ‘कोरोना परीक्षणको रिपोर्ट नआई आइसोलेसनमा राख्न सकिएन । इमर्जेन्सीमा राख्नु र आईसीयूमा उपचार गर्नुमा धेरे फरक हुन्छ ।’यसले कोभिड अस्पतालको इमर्जेन्सीमै आईसीयू र भेन्टिलेटर सुविधा पनि राख्नुपर्ने आवश्यकता औल्याएको डा. सिंह बताउँछन् ।

ads

ads