पर्साको जगरनाथपुर गाउँपालिकामा १४ वर्षीया बालिकामाथि जर्बजस्ती करणी

३ साउन, वीरगञ्ज । पर्सा जिल्लामा पछिल्लो तीन दिनमा दुई वटा जबरजस्ती करणी र एउटा यौन दुर्व्यवहारको घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले तीन वटै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिकामा १४ वर्षीया बालिकामाथि जर्बजस्ती करणी भएको गुनासो आएको छ । जर्बजस्ती करणी गरेको भनिएका पुरुष फरार छन् । राजनीतिक संरक्षणमा उनलाई भगाएको आशंका गरिएको छ । किशोरीको मेडिकल जाँचपछि महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ । बालिकाको तर्फबाट जाहेरी भने आइसकेको छैन । जानकारी पाएदेखि नै प्रहरीले अभियुक्तको खोजी गरिरहेकोे जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।

यसैगरी असार ३१ गते जिराभवानी गाउँपालिकामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी भएको उजुरी आएको छ । गाउँकै १७ वर्षीय किशोरले उनीमाथि जबरजस्ती करणी गरेको उजुरी परेको हो । आरोपीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया शुरु गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बहुदरमाई नगरपालिकामा ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ७५ वर्षीय वृद्ध पक्राउ परेका छन् । साउन १ गते भएको घटनाबारे थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक गंगा पन्तले महिलासँग सम्बन्धित घटनामा प्रहरीले अझ सुक्ष्म ढंगले अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउने बताइन् । ‘पर्सामा सामाजिक चेतनास्तर कमजोर देखियो । महिलामाथि भएका जघन्य अपराधिक घटनामा पनि राजनीतिक आस्थाका आधारमा पक्ष–विपक्षमा लाग्ने रहेछन्,’ पन्तले भनिन्, ‘तर कुनै पनि हालतमा प्रहरीले दोषीलाई उम्कन दिने छैन, निर्दोष नफसुन् भनेर पनि प्रहरी त्यतिकै सचेत छ ।’

ads

ads