बार्सिलोना घरेलु मैदानमा १० खेलाडीमा समेटिएको ओसासुनासँग २–१ ले स्तब्ध

एजेन्सी – निकटतम प्रतिद्धन्द्धी रियल म्याड्रिडले भिल्लारियललाई हराएर यो सिजनको स्पेनिस ला लिगाको उपाधि हात पारेको दिन क्याटलान क्लब बार्सिलोना घरेलु मैदान नोउक्याम्पमा १० खेलाडीमा समेटिएको ओसासुनासँग २–१ ले स्तब्ध बनेको छ ।

यो हारसँगै बार्सिलोनाको उपाधि यात्रामा पुर्णविराम लागेको छ । बिहीबार राति नै शीर्षस्थानको रियल म्याड्रिडले भिल्लारियलमाथि २–१ को जित हात पार्दै यो सिजनको ला लिगाको उपाधि जित्न सफल भएको छ । बार्सिलोनालाई स्तब्ध बनाउन ओसासुनाका जोसे अर्नाइज र रोबर्टो टोरेसले गोल गरे ।

घरेलु टोलीका कप्तान लियोनेल मेस्सीले गरेको गोल सान्त्वना बन्यो । घरेलु टोलीसँग लगातार दवावमा खेलेपनि ओसासुनाले खेलको १६औं मिनेटमा जोसे अर्नाइजको गोलबाट अग्रता लिन सफल भएको थियो । पेर्भिस एस्तुपिएनको पासलाई बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले ब्याकहिलबाट क्लियर गर्ने प्रयास गरेपनि भेट्न नसकेको बललाई अर्नाइजले वान टचमा गरेको प्रहार गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले रोक्ने कुनै मौका नै पाएन ।

२२औं मिनेटमा लियोनेल मेस्सीको फ्रिकिक क्रसबारमा लागेर बाहिरिदा बार्सिलोना बराबरीबाट चुक्यो । ३२औं मिनेटमा मेस्सीको प्रिकिक पोस्टबाट थोरै बाहिरिदा बार्सिलोना पुनः बराबरीबाट चुक्यो । ३८औं मिनेटमा मेस्सी नै चुक्दा बार्सिलोना चुकचुकाएको थियो । दोस्रो हाफको शुरुमै बार्सिलोनाले गोल गरेपनि मान्यता पाएन । ४७औं मिनेटमा रिकी पुचको पासबाट मेस्सीले मिलाइदिएको पासमा मार्टिन ब्रेथवेटले गोल गरेपनि मेस्सी अफसाइड पोजिसनमा देखिएका थिए ।

दोस्रो हाफमा एकपछि अर्काे आक्रमण बुनेको बार्सिलोनाले ६२औं मिनेटमा मेस्सीको फ्रिकिक गोलबाट खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । राहुल नाभासले लुइस सुआरेजलाई लडाएपछि प्राप्त फ्रिकिकमा यसपटक मेस्सी चुकेनन् । मेस्सीको प्रहारलाई ओसासुनाका गोलरक्षक सर्जियो हेरेराले ठम्याएपनि ढिला हुन पुगेको थियो । ६८औं मिनेटमा मेस्सीको पासमा सुआरेजले गोल गरेपनि उनी अफसाइड पोजिसनमा रहँदा गोलले मान्यता पाएन ।

७७औं मिनेटमा पाहुना टोली ओसासुना १० खेलमडीमा समेटियो । क्लेमेन्ट लेङलेटलाई एल्बो प्रहार गरेपछि रेफ्रीले इनरिक गालेगोलाई सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । तर, त्यसको फाइदा बार्सिलोनाले उठाउन सकेन । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा रोबर्टाे टोरेसले इनरिक बार्जाको पासमा गोल गर्दै बार्सिलोनालाई २–१ ले स्तब्ध पारे ।

हारपछि बार्सिलोना ३७ खेलबाट ७९ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । ओसासुना ५१ अंक जोडेर ११औं स्थानमा छ । अब लिग चरणको अन्तिम चरणको खेलमा रियलले लेगानेस र बार्सिलोनालले अलाभेससँग खेल्नेछन् ।

ads

ads