भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले दुईवटा घर पुरिए

१ साउन, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले दुईवटा घर पुरिएका छन् ।

दुई घर पहिरोमा पुरिँदा घरभित्रै रहेका केही व्यक्तिहरु बेपत्ता भएका छन् । कतिजना बेपत्ता भए भन्ने एकीन जानकारी आइसकेको छैन ।

तर, स्थानीयबासीले पाँच जना बेपत्ता भएको सूचना दिएको गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा लामाले अनलाइनखबरलाई बताइन् । घटना राति करिब साढे १ बजेको हो । प्रहरी घटनास्थलमा पुगेको छैन । गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले प्रहरीहरु घटनास्थल जाँदै गरेको र आफूहरु पनि केहीबेरमा घटनास्थल पुग्ने बताए ।

गाउँपालिका अध्यक्ष पौडेलका अनुसार पहिरोले फुल्पिङकट्टीकै एक स्कुलको कम्पाउन्डमा पनि क्षति पुर्याएको छ । बिहीबार बिहानपख २ बजेतिर बलेफी नदी जलबिरे सिन्धुपाल्चोक बाढी मापन केन्द्रमा एक्कासी जलसतह एक मिटर बढेर सतर्कता आसपासको बाढी आएको थियो । बाढी बढ्दो क्रममा छ ।

त्यसैले बाढी पूर्वानुमान महाशाखाको बाढी सूचना केन्द्रले सुनकोशीको तटीय क्षेत्रमा हुनेहरूलाई दिउँसोसम्मै सुरक्षित रहन आग्रह गरेको छ ।

ads

ads