भारतले बनाएका सडक र तटबन्धका कारण नेपालको तराई क्षेत्र डुबानको खतरा

२९ असार, काठमाडौं । पछिल्लो समय नेपालमा भारत सरकार विरोधी उभार छ । नेपालले आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई लिएर गरेको दाबी भारतीय पक्षले अस्वीकार गर्नु यसको मुख्य कारण बनेको छ ।

अहिले वर्षाको समय हो । सीमा नजिक भारतले बनाएका सडक र तटबन्धका कारण नेपालको तराई क्षेत्र डुबानको खतरामा परेको छ । सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा यी विषयहरुमा छलफल भयो । बैठकमा सहभागी बाहालवाला मन्त्री, पूर्वमन्त्री र सांसदहरूले भारत सरकारको रवैयाको आलोचना गरे ।

‘अरु बेला रोटीबेटीको सम्बन्धका कुरा गर्ने तर, बाढी, डुवान, कटान आउँदा त्यसखालको व्यबहार नहुने…’, बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले भनिन्, ‘यस्तो छिमेकी (भारत)लाई मित्र भन्ने कि दुष्ट ?’

पूर्वमन्त्री समेत रहेका नेकपाकै सांसद लालबाबु पण्डितले नेपालको सीमा नजिक भारतले जबरजस्ती बनाइरहेको संरचनाका बिषयमा दुईपक्षीय कुरा गरेर समाधान खोज्नुपर्नेमा जोड दिए ।

नेकपाका अर्का सांसद झपट रावलले सोधे, ‘सीमामा भारतीय दादागिरीले सीमा नाघ्यो, अझै चुप लागेर बस्ने कि केही गर्ने हो ?’ नेकपाकै सांसद महेश्वरजंग गहतराजले भारतले जानीजानी नेपाललाई सास्ती दिन सीमामा संरचना बनाउँदै गएको बताए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले दुई देशबीचको समस्यामा बाढी र डुबानमा समेत जोडिएको भन्दै दुबैलाई क्षति नहुनेगरी समन्वयमा काम हुनुपर्नेमा बताए । त्यसका लागि तत्काल कुटनीतिक पहल थाल्न उनले परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालयलाई आग्रह गरे ।

ads

ads