पीसीआर परीक्षण किन घटाउँदै सरकार : दुई अंकमा झर्‍यो नयाँ संक्रमितको संख्या, भन्न मिल्छ

सरकार पछिल्लो केही दिनयता कोरोनाको पीसीआर परीक्षण घटाउँदै लगेको छ । हरेक दिन साढे ४ हजारको औषतमा परीक्षण गरिरहेको सरकारले शनिबार ३ हजार ६ सय ४८ जनाको मात्रै पीसीआर विधिबाट कोरोना परीक्षण गरेको छ । आजसम्म पीसीआर विधिबाट २ लाख ७९ हजार ५ सय ९९ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा २४ हजार ९७ जना रहेका छन् ।

बितेको २४ घण्टामा थप ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै संक्रमितको कूल संख्या १६ हजार ७१९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ८ हजार २३९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । शनिबार थपिएका संक्रमितमध्ये काठमाडौंका ३ जना रहेका छन् ।

यसैगरी धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला गरी ६ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त रहेको पनि गौतमले जानकारी दिए ।

गौतमका अनुसार बितेको २४ घण्टामा थप ४३१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनाभाइरस संक्रमणमुक्त हुनेको कूल संख्या ८ हजार ४४२ पुगेको हो ।

गौतमले कोरोना संक्रमित मध्ये निको हुनेको संख्या ८ हजार ४४२ पुगेको बताए । उनले प्रतिशतका आधारमा संक्रमितमध्ये ५०.५ व्यक्ति निको भएपनि बताए ।

जनस्वास्थ्य विज्ञहरुले भने दैनिक थपिने संक्रमितको संख्या घट्दैमा जोखिम टर्‍यो भन्न मिल्दैन । किनकी अहिलेसम्म भारत तथा तेस्रो मुलुकबाट आएर क्वारेन्टिनमा बसेकाहरुको परीक्षण गरिएको थियो । समुदाय स्तरमा व्यापक परीक्षण नै हुन सकेको छैन । समुदाय स्तरमा परीक्षण बढाउादा संक्रमितको संख्या फेरि बढ्न सक्ने उनीहरु बताउँछन् ।

ads

ads