किन खाइन्छ क्वाँटी ?

यो साता जनैपूर्णिमा अर्थात् क्वाँटी खाने चाड । किन खाइन्छ क्वाँटी ? के फाइदा छ यो खाएर ? यो साता हामी क्वाँटीबारे चर्चा गर्ने छौं  । भिजाइएका गेडागुडीलाई टुसा उम्रेपछि क्वाँटी भनिन्छ । क्वाँटीमा मुख्य रूपले केराउ, चना, भटमास, मुग, बोडी, राजमा, सिमी, मस्याङ, मुसुरोलगायत हुन्छन् ।

वरिष्ठ बालरोग विशेषज्ञ एवं कान्ति बाल अस्पतालका पूर्व निर्देशक प्राडा.चन्देश्वर महासेठका अनुसार पौष्टिकताका हिसाबले टुसाएको गेडागुडी ‘सुपर फुड’ हो । ‘अंकुरित गेडागुडी सबै उमेर समूहका लागि फाइदाजनक भए पनि बालबालिकाका लागि थप उपयोगी छ, यसले कुषोषण हुनबाट जोगाउँछ, रोगप्रतिरोधक क्षमता बढाउँछ,’ डा. महासेठ भन्छन्, ‘हेर्नोस्, हाम्रा पुर्खा कति वैज्ञानिक सोच राख्थे, अंकुरित गेडागुडी खाने चलन हाम्रो संस्कृतिकै अंग बनेको छ ।’

परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.झलक गौतम भन्छन्, ‘टुसाएको गेडागुडी अर्थात् क्वाँटीमा सामान्य गेडागुडीभन्दा ३० प्रतिशत बढी भिटामिन ‘सी’, भिटामिन ‘के’ र प्रोटिन पाइन्छ ।’ क्वाँटीमा प्रोटिनसँगै आइरन, म्याग्निज, फोस्फोरस, पोटेसियम, म्याग्नेसियम, जिंक, कपर, सेलिनियमलगायतका पोषकतत्त्व पाइन्छ ।

प्रोटिन निर्माणका लागि एमिनो एसिड चाहिन्छ, जुन २०/२२ थरीका हुन्छन् । तीमध्ये ९ वटा शरीरलाई नभई नहुने हुन् । प्रोटिन बनाउन, हर्मोन र न्युरो ट्रान्समिटर बनाउन एमिनो एसिड नभई हुँदैन । मासुबाट पाइने प्रोटिनलाई पूर्ण प्रोटिन भनिन्छ, जसमा ९ वटै अमिनो एसिड हुन्छन् ।

बोटबिरुवाबाट पाइने प्रोटिन मूलतः अपूर्ण प्रोटिन हो । जसमा ९ वटै अमिनो एसिड हुँदैन । ‘तर सिमी, राजमा र भटमासमा ९ वटै एमिनो एसिड पाइन्छ र यसलाई पूर्ण प्रोटिन भनिन्छ,’ डा.गौतम भन्छन्, ‘त्यसैले क्वाँटी पूर्ण प्रोटिन प्राप्तिका लागि धेरै महत्त्वपूर्ण र कम खर्चिलो खाद्य परिकार हो ।’

ads

ads