नेपालमा यसवर्ष सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निश्कर्ष गलत सावित

नेपालमा यसवर्ष सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निश्कर्ष गलत सावित भएको छ । मन्त्रालयले मरुभूमि सलहबारे अध्ययन गर्न गठन गरेको विशेष कार्यदलले यो वर्ष सलह किरा नआउने निचोडसहितको प्रतिवेदन दिएको थियो ।

मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाई नेतृत्वमा कार्यदल गठन भएको थियो । यो कार्यदलले नेपालमा यो वर्ष सलह किरा भित्रिने सम्भावना नरहेको उल्लेख गरेको छ । आगामी वर्षहरूमा भने सचेत हुनुपर्ने कार्यदलको सुझाव थियो ।

भारतको मध्यप्रदेशबाट आएको सलह फेरी राजस्थानतिरै फर्किएको, हावाको वहाव नआएको, झरी सुरु भैसकेकाले सलह नआउने कार्यदलको निश्कर्ष थियो । कार्यदलले सुक्खा मौसम र सुक्खा ठाउँ मन पराउने भएकाले मनसुन सुरु भए पछि सलह आउँदैन भन्ने प्रतिवेदन दियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ‘हावा’ प्रतिवेदन

अघिल्लो महिना नै भारतमा सलह प्रकोप देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा सलहको जोखिमबारे अध्ययन गरेको थियो । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईंको संयोजकत्वमा गठित समितिले जेठ २३ गते मन्त्रालयलाई नेपालमा सलह भित्रिन नसक्ने प्रतिवेदन बुझाएको थियो ।

यस अघि पनि भारतको राजस्थानसम्म जुलाई महिना पटक पटक सलहको नयाँ झुण्डहरु आइरहने गरेको र अहिले आएको सलहको ठूलो झुण्ड पनि राजस्थान आइपुगेपछि तितर–बितर भएको प्रतिवेदनमा उल्लेख थियो ।

सलहका स–साना झुण्डले भारतको बिहार र उडिसासम्म आक्रमण हुन सक्ने अनुमान गरिए पनि सरकारी प्रतिवेदनमा सलह नेपाल छिर्ने परिकल्पना गरिएको थिएन ।

सलहको ठूलो बथान छुटेको र नेपालमा मनसुनका कारण हावाको वेगमा आएको परिवर्तनले नेपालमा सलहको जोखिम अत्यन्तै न्यून रहेको समितिको निष्कर्ष थियो ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रम (एफएओ) ले गरेको अध्ययनमा पनि दक्षिण एसियामा देखिएको सलह नेपाल प्रवेश हुने सम्भावना अत्यन्तै कम भएको विवरण सहदेव हुमागाइँ संयोजकत्वको समितिलाई दिएको थियो ।

एफएओको विशेष टोली भारतमा स्थलगत अध्ययनमा रहेको र उताको रिपोर्टमा पनि सलह नेपाल प्रवेश गर्ने सम्भावना कम रहेको भन्ने आएको छ, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुखसमेत रहेका हुमागार्इँले भने ।

सलहको जीवनचक्रका लागि अण्डा पार्न नेपालको हावापानी अनकूल नरहेको र मनसुनका कारण नेपालमा पूर्वाीय हावाको चाप बढ्दा किरा नेपाल प्रवेश गर्न नसक्ने पनि समितिले औँल्याएको थियो । समितिले तत्कालका लागि जोखिम टरे पनि विगतमा सलहले ठूलो क्षति निम्त्याएकाले सर्तकता अपनाउन भने मन्त्रालयलाई सुझाव दिएको थियो ।

सलह नियन्त्रणका लागि दक्ष प्राविधिक तयार गर्न तालिमको व्यवस्था गर्ने, किरा भित्रिएको खण्डमा नियन्त्रणका लागि स्रोत, साधनको यथोचित बन्दोबस्त गर्ने तथा तीनै तहको सरकारको तर्फबाट टास्कफोर्स बनाएर जिम्मेवारी बाँडफाँड गरेर तयारी अवस्थामा रहनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको थियो, समिति संयोजक हुँमागाईले भने ।

मनसुन सुरु भएको १५ दिनपछि सलह प्रवेश गरेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष जेठ ३० मै मनसुन सुरु भयो । सलह आउँदैन भन्ने प्रतिवेदन बुझाएको तीन हप्तापछि नै सलह भित्रिएको देखिन्छ । ‘कार्यदलको प्रतिवेदन सर्वसाधारण तहबाट तयार पारिएको देखियो’ कृषि मन्त्रालयका एक पूर्वसचिव भन्छन्, ‘विज्ञको नजरबाट नभई लिटरेचर रिभ्यू र अप्राविधिक अवलोकनको आधारमा बनाएको प्रतिवेदन फेल खानु अस्वाभाविक होइन ।’

ads

ads