महिलाका लागि छुट्टै क्वारेन्टिन व्यवस्था

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले देशका विभिन्न स्थानमा व्यवस्था गरेको क्वारेन्टिन असुरक्षित बनेको भन्दै सांसदले क्वारेन्टिनलाई व्यवस्थित र सुरक्षित गर्न तथा महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको वैठकको शून्य समयमा सांसद थममाया थापाले क्वारेन्टिनमा महिला बलात्कृत हुनु अत्यन्त गम्भीर भएको उल्लेख गर्दै महिलाका लागि छुट्टै क्वारन्टिनको व्यवस्था र सुरक्षाका लागि महिला प्रहरी राख्न माग गरिन् । सांसद निरुदेवी पालले क्वारेन्टिनमा महिलामाथि विभिन्न हिंसाका घटना बढेको भन्दै महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न माग गरिन् ।

सांसद पवित्रा खरेल निरौलाले कैलालीको लम्कीमा महिलामाथि भएको घटनाका दोषीलाई कडा कारबाही गरिनुपर्ने माग गर्नुभयो । सांसद नरमाया ढकालले क्वारेन्टिन यातना गृह जस्तो भएकाले तत्काल क्वारेन्टिनको अवस्था सुधार गर्न माग गरिन् ।

सांसद पार्वता डीसी चौधरीले कैलाली घटनाबारे आपत्ति जनाउँदै क्वारेन्टिनमै असुरक्षित महिला कहाँ सुरक्षित होलान भनी प्रश्न गर्दै घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद पूर्णकुमारी सुवेदीले कैलालीको क्वारेन्टिनमा बिरामी महिलामाथि भएको घटनाको भत्सर्ना गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरिन् ।

सांसद टेकबहादुर बस्नेतले क्वारेन्टिनलाई व्यवस्थित बनाउँदै स्वास्थ्य सामग्री सिधै जिल्ला र स्थानीय तहलाई हस्तान्तरण गर्न आग्रह गरे । सांसद बालकृष्ण खाँडले कोभिडका कारण अन्य क्षेत्रजस्तै हवाई उद्योगलगायत क्षेत्रमा राहतको कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

ads

ads