कोरियन भाषा परीक्षा उत्तीर्ण भएर कोरिया जाने प्रक्रियामा रहेका २हजारभन्दा बढी कामदारहरु मर्का हातमा आईसकेको रोजगारी गुमाएर नेपालमै थन्किनुपर्ने हो कि भन्ने चिन्ता

कोरियन भाषा परीक्षा उत्तीर्ण भएर कोरिया जाने प्रक्रियामा रहेका २ हजारभन्दा बढी कामदारहरु मर्कामा परेका छन् । लकडाउनको कारण देखाउँदै सरकारले प्रक्रिया अलमल गरेपछि उनीहरू हातमा आईसकेको रोजगारी गुमाएर नेपालमै थन्किनुपर्ने हो कि भन्ने चिन्तामा छन् ।

भिसाको लागि गरिने ‘सर्टिफिकेट फर कन्फरमेसन अफ भिसा इसुएन्स’ (सीसीभीआई)को प्रक्रिया पुरा गर्न नसक्दा कोरिया जाने कामदारहरुले रोजगारी गुमाउने खतरा बढ्दै गएको हो ।

ईपीएस कोरिया शाखाका अनुसार सीसीभीआई आएको ३ महिनासम्म कामदारको भिसाको प्रक्रिया पुरा गरिसक्नुपर्छ । तर, लकडाउनका कारण फारम भर्न सम्भव नभएको भन्दै करिब ८ सय कामदारको यस्तो प्रक्रिया पुरा गरिएन । त्यसपछि शाखाले सीसीभीआई नवीकरण गर्न आग्रह गर्दै कोरियालाई प्रस्ताव पठाएको छ ।

प्रक्रियामा ढिलाइ भएपछि कतिपय कामदारको सीसीभीआई रद्ध हुन थालेको छ । रोजगारदाताले भिसा प्रक्रिया नटुंगिएसम्म जहिलेसुकै सीसीभीआई रद्ध गर्न सक्ने व्यवस्था छ । लकडाउनका कारण कामदार जान ढिलाई हुने अवस्थाले अब सम्भावित रोजगार गुम्ने क्रम सुरु भएको गुनासो कामदारहरुको छ ।

कतिपय कामदारहरु भिसा आएर पनि कोरिया जान पाएका छैनन् । भिसा आएको एक महिनाभित्र कामदार कोरिया पुगिसक्नुर्ने नियम छ । तर, नेपालमा अन्तर्राष्ट्रिय उडान प्रतिवन्ध गरिएपछि भिसा आईसकेका सयौं युवा पनि यतै अडि्कएका छन् । सरकारले त्यस्तो भिसाको अवधि पनि बढाइदिन कोरियालाई आग्रह गरिएको बताएको छ ।

परिश्रम र लगानी खेर जाने चिन्ता

कोरिया जाने प्रतिक्षामा रहेका सहदेव सापकोटा सरकारले प्रक्रियामा गरेको गरेको ढिलासुस्ती र लापरवाहीका कारण करिब २ हजार देखि २५ सय कामदारको प्राप्त हुन लागेको आकर्षक रोजगारी गुम्ने जोखिम बढेको बताउँछन् ।

‘हामीले कति वर्ष दुःख गरेर भाषा परीक्षा पास गरेका हौं, तर हाम्रो सीसीभीआई आएपनि बाँकी प्रक्रिया लकडाउन भयो भन्दै रोकेर राखिएको छ,’ उनले भने,’रोजगारदाताले प्रतिक्षाकोअवधि कटेपछि नेपालकै कामदार कुरिराख्दैन, सरकारले गरेको लापरवाहीले रोजगारी पाउने निश्चित भईसकेका मजस्ता थुप्रै साथी मारमा पर्नुभयो ।’

प्रक्रिया नियमित गरेर कामदार पठाउन सुरु नगरे आन्दोलन गर्ने चेतावनी कामदारहरूले दिएका छन् । सरकारले गर्नुपर्ने प्रक्रियाहरु पुरा नगर्दा ठूलो लगानी र मिहिनेत गरेर भाषा परीक्षा पास गरेका युवाको भविष्य अनिश्चित भएको उनीहरुको गुनासो छ ।

ads

ads