भैरहवाबाट कोरोना संक्रमणमुक्त भएर २५ जना घर फर्किंए

रुपन्देहीको भैरहवास्थित भीम अस्पतालबाट सोमबार कोरोना संक्रमणमुक्त भएर २५ जना घर फर्किंएका छन्। यसरी घर फर्किनेमध्ये तीन जना आमाछोरीसहित भारतीय नागरिक समेत रहेका छन्।

भीम अस्पताल भैरहवाका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले रुपन्देहीका १६, कपिलवस्तुका ५, नवलपरासीका ३ र भारतको गोण्डाका एक जनालाई सोमबार घर पठाइएको गरिएको जानकारी दिए।

तीमध्ये रुपन्देहीको गैंडहवा गाउँपालिकाका १० जना रहेका छन्। गैंडहवाका ४ वर्षीय र १० वर्षीय बालिकासहित एक महिला र ७ जना पुरूष कोरोना संक्रमणमुक्त भएका हुन्। बालिका र महिला आमा छोरी हुन्। त्यस्तै, लुम्बिनी साँस्कृतिक नगरपालिकाका ५ र सिद्धार्थनगर नगरपालिकाका एक जना पनि आज डिस्चार्ज भएका छन्।

त्यसैगरी, कपिलवस्तुको कपिलवस्तु नगरपालिकाका ४ र विजयनगर गाउँपालिकाका एक जना रहेका छन्। सुस्ता गाउँपालिकाका २ र प्रतापपुर गाउँपालिकाका १ गरी पश्चिम नवलपरासीका ३ जना पनि सोमबार कोरोनामुक्त भएका हुन्। उनीहरू सबै जना पुरूष हुन्।

२० दिन पहिले कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल ल्याइएका उनीहरूको १४ दिनपछि पहिलोपटक र आइतवार दोस्रो पटकको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको डाक्टर दर्नालले जानकारी दिए।

अस्पतालमा रहेका २५ जना सबै कोरोनामुक्त भएर घर पठाएसँगै अस्पतालमा कपिलवस्तुबाट थप संक्रमित ल्याउने तयारी गरिएको दर्नालले जानकारी दिए।

ads

ads