भारतबाट धनुषाको जटही नाका हुँदै नेपाल आउन लागेका एक जनाको मृत्यु

भारतबाट धनुषाको जटही नाका हुँदै नेपाल आउन लागेका एक जनाको आज बिहान मृत्यु भएको छ।

धनुषाको जटही नाकाबाट घर आउन लागेका सहिदनगर नगरपालिका वडा नम्बर ९ का ३० वर्षीय वीरेन्द्र यादवको मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए।

प्रजिअ निरौलाले भने, ‘मृतक यादव ३ बजेतिर नाकामा पुगेका हुन् र त्यहाँ बसिरहेका बेला आज बिहान करिब ६ बजेतिर उनी अचानक बिरामी परेका थिए, उनलाई रूघाखोकी लागेको थियो, बिरामी परेपछि त्यहाँ रहेका सुरक्षाकर्मीहरूले तत्कालै उनलाई खाना र औषधि खुवाएका थिए,त्यसको केहीबेरमै उनको मृत्यु भयो।’

यता खाना नपाएकै कारण उनको मृत्यु भएको भन्दै जटही नाका हुँदै नेपाल आइरहेका नेपालीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध प्रदर्शन गरेका छन्।

सयौँको संख्यामा स्थानीय प्रधानमन्त्रीविरूद्ध प्रदर्शन गर्दै उनीविरूद्ध मुर्दावादको नारा समेत लगाएका थिए। आक्रोशित भीडले ज १ त १२१३ नम्बरको एम्बुलेन्स समेत तोडफोड गरेका छन्।

भारतको अहमदाबादको एक होटलमा कुकको काम गर्दै आएका मृतक यादव करिब १५ दिनदेखि चिउरा- मुरही खाँदै जटही नाकासम्म पुगेको त्यहाँका एक स्थानीयले बताए।

ads

ads