पिसाब रोक्दा यस्ता डरलाग्दो रोग लाग्न सक्छ

हाम्रो शरीरले जरुरी कामको लागि अर्लाम बजाएर हामीलाई सतर्क गरिरहेको हुन्छ। यस्तै एउटा प्रक्रिया हो पिसाब फेर्न मन लाग्नु। तर हामी कहिलेकाहीँ यस्तो परिस्थितिमा हुन्छौं, पिसाबको महसुस भए पनि गर्न भने पाउँदैनौं। हामी यसलाई रोकेर राख्छौं। कहिलेकाहीँ रोक्दा खासै फरक पर्दैन। तर प्रायः यस्तै गर्ने बानी छ भने यसले समस्या निम्तिँदै जान्छ। लामो समय पिसाब रोक्दा यी विभिन्न समस्या हुन सक्छ।

मिर्गौलामा पत्थरी

लामो समयसम्म पिसाब रोकेर राख्ने बानीका कारण पिसाब थैली, मिर्गौला वा पिसाब नली पोल्न सक्छ। यस्तो बानी मिर्गाैलाको लागि हानिकारक पनि हुन सक्छ। यसले किड्नीको कार्यप्रणालीमा समस्या ल्याउँछ। पिसाबमा हुने मिनरल एकत्रित भएर मिर्गाैलामा पत्थरी हुन सक्छ। यसले मिर्गौलामा पत्थरी वा संक्रमणको खतरा रहिरहन्छ।

पिसाब नलीमा संक्रमण

पिसाब नलीमा संक्रमण हुने धेरै कारण हुन्छन्। लामो समयसम्म पिसाब रोकेर राख्नु पनि एउटा कारण हो। पिसाबलाई धेरै बेरसम्म रोक्नाले यसले ब्याक्टेरियालाई बढाउने काम गर्छ। थोरै पानी पिउने बानी छ भने पनि यसले पिसाब नलीमा संक्रमण हुन सक्छ। यस्तो अवस्थामा ब्याक्टोरिया पिसाब नलीमा फैलिन्छ र संक्रमणको कारण बन्छ।

संक्रमण भएपछि पिसाब पोल्ने, तल्लो पेट दुख्ने, पिसाबबाट गन्ध आउने, पिसाबको रङमा परिवर्तन हुने, पिसाबमा रगत देखिनेजस्ता समस्या उत्पन्न हुन्छ।

पिसाब चुहिने समस्या

लामो समयसम्म पिसाब रोकेर राख्नाले पेल्भिक मसल्समा हानि पुग्न सक्छ। यो मसल्सले पिसाबको बाटो रोकेर राख्छ। युरिन इन्फेक्सनको कारण मसल्समा समस्या हुन सक्छ।

दुखाइ पनि हुन सक्छ

जो मानिस पिसाब रोकिरहन्छन्, तिनीहरूलाई पिसाब थैलीमा दुखाइ हुने खतरा बढ्न सक्छ।

खतराको संकेत

पिसाब गर्न लामो समय लाग्छ भने तपाईंको लागि यो समस्या बन्न सक्छ। पिसाब गर्ने प्रक्रिया महिलामा २० देखि ३० सेकेन्ड र पुरुषमा ४० देखि ५० सेकेन्डमा पूरा हुनुपर्छ। योभन्दा धेरै समय लाग्नु असामान्य हो। पिसाबपछि पनि हल्का महसुस हुँदैन भने पिसाब थैली पूरै तरिकाले खाली भएको छैन भन्ने बुझ्नुपर्छ। यो सामान्य लक्षण होइन।

पिसाब कम लागेको छ भने दिनभरिमा पर्याप्त पानी पिइयो वा पिइएन भन्ने विचार गर्नुपर्छ। पर्याप्त मात्रामा पानी पिउँदा पनि यी विभिन्न समस्या देखिन्छ भने युरोलोजिकल समस्या पनि हुन सक्छ। त्यसैले सकेसम्म चाँडो युरोलोजिस्टलाई सम्पर्क गर्नुपर्छ।

पिसाबको महसुस

पिसाब थैलीमा तीन सय एमएल पिसाब एकत्रित भएमा हामीलाई पिसाब गर्न मन लाग्छ। चार सयदेखि पाँच सय एमएल एकत्रित भएमा हामीलाई पिसाब गर्न तीव्र इच्छा हुन्छ। तीव्र इच्छा भएपछि पनि धेरै समयसम्म पिसाब रोक्नु समस्या निम्त्याउनु हो।

ads

ads