दुई सय यात्रुहरु ओसारिरहेको ९ ओटा ट्रक नियन्त्रणमा

धादिङ — खाद्यान्नलगायत दैनिक उपभोग्यवस्तु ढुवानी गर्न पाउन सरकारले दिएको छुटको फाइदा उठाउँदै ट्रकहरुले यात्रु ओसार्न थालेका छन् । शुक्रबार राति १० बजे गजुरीस्थित इलाका प्रहरी कार्यालयको टोलीले जाँच गर्ने क्रममा यात्रु बोकेका ९ ओटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेका ती ट्रकमा त्रिपालले ढाकेर दुई सय जना यात्रुहरु ओसारिरहेको अवस्थामा समातिएका हुन्। सबै यात्रु र ट्रकलाई थप कारबाहीका लागि काठमाडौंतर्फ फर्काइएको गजुरी प्रहरीले जनाएको छ।

गत मंगलबारदेखि देशभर लागु भएको लकडाउनका कारण अत्यावश्यकबाहेकका सवारीसाधन ठप्प छन्। धादिङ प्रहरीले राजमार्गलगायत मुख्य बजार क्षेत्रमा पैदल हिँड्नसमेत दिएको छैन। तर, ट्रक चालकहरुले रातको समयमा सुरक्षाकर्मीलाई झुक्याउँदै यात्रुहरु ओसारिरहेको भेटिएको हो।

सहज रुपमा गन्तव्य पुर्‍याउने भन्दै चालकहरुले प्रतिव्यक्ति पाँच सय रुपैयाँका दरले भाडा असुलेको एक यात्रुले बताए। उनले काठमाडौंमा खाना खान नपाएर घर फर्किन लागेको गुनासो गरे। ‘खान नपाउने भएपछि बाध्य भएर काठमाडौंबाट हिँडेका हौं,’ ति यात्रुले भने।

शुक्रबार रातभर पृथ्वीराजमार्ग हुँदै एक सयभन्दा बढी मालबाहक ट्रक आवतजावत गरेको सुरक्षाकर्मी बताउँछन्।

ads

ads