बेलायतका स्वास्थ्यमन्त्री म्याट हानककलाई कोरोना संक्रमण भएको पुष्टि

लन्डन — बेलायतका स्वास्थ्यमन्त्री म्याट हानकक पनि कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमति भएका छन् । बेलायती सञ्चारमाध्यमका अनुसार ४१ वर्षीय हानकक सेल्फ आइसोलेसनमा छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनमा पनि कोभिड–१९ संक्रमण शुक्रबार नै पुष्टि भएको थियो ।

जोनसन र हानककले बेलायतमा कोभिड–१९ को महामारीविरुद्धको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए । बेलायती प्रधानमन्त्री कार्यालयकाअनुसार मध्यम खालका लक्षण देखिएपछि जोनसन हाल सेल्फ आइसोलेसनमा छन् ।

विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड–१९ बाट संक्रमित हुने जोनसन पहिलो सरकार प्रमुख हुन् । बेलायतमा यसअघि युवराज चार्ल्स र उपस्वास्थ्यमन्त्री नदिन डोरिसलाई कोभिड–१९ को संक्रमण देखिइसकेको छ । युवराज चार्ल्स हाल पत्नीसहित स्कटल्यान्डस्थित निवासमा आइसोलेसनमा छन् ।

बेलायतमा हालसम्म ११ हजार ६ सय जनामा कोभिड–१९ संक्रमण पुष्टि भइसकेको छ भने ५ सय ७० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

ads

ads